जननेता व्यथा बन्यौ लौ मनपरी गर साथी
जन्ता भोकै मरे मर्लान् आफ्नै भूँडी भर साथी

तलब भत्ता बाइक गाडी तिमीलाई नै चाहिने भयो
सोझा गरिब जनतालाई बढाउदै जाऊ कर साथी
न त तिम्रा बाउले सके न त तिमि किन्न सक्थ्यौ
फ्री बाइक गाडी पा’ छौ भवसागर तर साथी
जनताको सम्पति हो तिम्रा बाउको बिर्ता हैन
स्वदेश विदेश घुम्न जाऊ फ्री पाइने छर साथी
तलदेखि माथिसम्म च्यानल आफ्नै मी’ला हौला
घुस खान भ्रस्ट बन्न तिम्लाई के को डर साथी
डोजर किन ट्याक्टर किन विकास गर्ने बाहानामा
आनुदानु जनता ठगि आफ्नै गोजी भर साथी
एक् जोड लाउन एक छाक टार्न हम्मे थियो हिजो
मामाको धन फूपु श्राद्द गर मस्ती गर साथी
छोराछोरी मामा भान्जा साला साली नातागोता
ठेक्कापट्टा जागिर खाँन आफ्नै मान्छे भर साथी
कति बाँड्यौ झुटा आशा चुनाव हुँदा जनतालाई
पूरा गर्ने सोचीकन अलि अघि सर साथी
पाँच बर्षको यो कार्यकाल फेरी फर्की आउँ छ कि नाइँ
वाचा पूरा गर कि त तिमि आफू मर साथी
जनताको जनसागर यदि उर्लीआयो भने
चुनाव आए पाखा लाउँला यति विचार गर साथी
विरही साइँला





