जुम्ला । नेकपा एमाले जिल्ला कमिटी जुम्लाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला उत्साहपूर्वक सम्पन्न भएको छ। जेन्-जी आन्दोलन पछिको राजनीतिक परिस्थिति र एमालेको आगामी रणनीति विषयमा केन्द्रित भेलाले संगठन सुदृढीकरण, संगठन विस्तार र वडास्तरमा सशक्त अभियान संचालन गर्ने निर्णय गरेको छ ।

भेला कार्यबाहक अध्यक्ष प्रेम बहादुर बुढाको सभाध्यक्षतामा तथा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि बोगटीले जेन्-जी आन्दोलन पछि सबैभन्दा बढी प्रहार नेकपा एमाले माथि भइरहेको उल्लेख गर्दै पार्टीलाई संकटमा पनि एकताबद्ध रहन आग्रह गरे । उनले भने,
राष्ट्रियताको सवालमा सँधै एमाले अग्रमोर्चामा रहन्छ। मतभेद स्वाभाविक हो, तर चुनावमा एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता रहेकाे उनकाे जिकिर छ ।
यस्तै, जिल्ला इन्चार्ज रतन नाथ योगीले एमाले कहिल्यै चुनावबाट नभाग्ने स्पष्ट पार्दै भने, संगठन बलियो छ, तर नेतृत्वमा कमजोरी देखिएको छ।
अब वडा र पालिका स्तरमै संगठनात्मक गतिविधि सक्रिय पार्नुपर्ने बेला आएको बताए ।
उनले भने, युवा पुस्ताको अर्थपूर्ण सहभागिता बिना पार्टी सशक्त हुन नसक्नेमा जोड दिए।
एमाले नेता तथा योजना आयोगका पूर्व सदस्य मिन बहादुर शाहीले एमाले सरकारले गरेको विकास योजनाको प्रभावकारी प्रचार नहुँदा भ्रम सिर्जना भएको टिप्पणी गरे। उनले भने, धौलिगाड खानेपानी आयोजना जस्ता योजनाहरू एमाले सरकारको पालामा स्वीकृत भएका हुन् ।
उनका अनुसार , काम गर्ने एमाले श्रेय अरूले लिएका छन्, तर त्यो हाम्रो पहल थियो। अब पार्टी भित्रको गुटगत प्रवृत्ति अन्त्य गर्दै कार्यकर्तामुखी अभियान सञ्चालन गर्न आग्रह गरे ।
यस्तै, केन्द्रीय सल्लाहकार परिषद सदस्य देविलाल थापाले देश अझै एमालेकै एजेण्डामा अघि बढिरहेको बताउँदै सबै नेता कार्यकर्तालाई जिम्मेवार भएर अघि बढ्न सुझाव दिए।
भेलाबाट तीन महत्वपूर्ण निर्णयहरू पनि पारित गरिएका छन् ।
जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने, कार्तिक १६ गते जिल्ला कमिटीको बैठक बस्ने, र पालिका, वडा तथा जनवर्गीय संगठनका भेला बैठकलाई सक्रिय रूपमा अघि बढाउने निर्णय भएको छ ।
यस्तै प्रचार विभाग प्रमुख सरोज शाहीका अनुसार, एमालेले अब वडा स्तरमै संगठन विस्तार र जनसंपर्क अभियान तीव्र पार्दै आगामी निर्वाचनका लागि तयारी थाल्ने बताए ।





