नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै नयाँ राजनीतिक पहलको घोषणा गरेका छन्। उनले माओवादी केन्द्रको बैठक कमलादीस्थित नेपाल प्रज्ञा भवनमा चलिरहेका बेला बखुण्डोलस्थित सत्कार क्याफेमा ‘वाम प्रगतिशील ध्रुवीकरण अभियान’ सुरु गर्ने घोषणा गरेका हुन्।

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)सहित नौवटा दलसँग एकता गर्ने निर्णय गरेपछि शर्माले त्यसप्रति कडा असन्तुष्टि जनाएका थिए। पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि उनले माओवादी केन्द्र छोड्ने निर्णय लिएका हुन्। यसअघि नै शर्माले सचिवालय बैठकमा एकता निर्णयलाई गलत बताउँदै विरोध जनाएका थिए र माओवादी पुनर्गठनको कुरा उठाएका थिए।
शर्माले माओवादीको उपमहासचिव पद पनि अस्वीकार गरेका छन्। उनलाई पार्टी सचिव राम कार्कीले समर्थन गरेका छन्। कार्की पनि लामो समयदेखि अध्यक्ष प्रचण्डसँग असन्तुष्ट रहँदै आएका थिए। केही दिनअघि सचिव गणेश साहले पनि माओवादी केन्द्र परित्याग गरेका थिए।
शर्मालाई राम कार्कीका साथै सुदन किराँतीले पनि साथ दिन सक्ने चर्चा छ। तर, कसले औपचारिक रूपमा शर्माको अभियानमा सहभागी हुने भन्ने स्पष्ट भएको छैन।
त्यसैगरी, नेकपा (एस) सँगको एकता निर्णयप्रति असन्तुष्ट रहेका महासचिव घनश्याम भुसालसँग शर्माको सहकार्य हुने सम्भावनाको पनि चर्चा चलिरहेको छ। यी दुई नेताले नयाँ राजनीतिक संगठन निर्माण गर्ने तयारी गरिरहेको भनिएको छ।
उक्त अभियानमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दलाल ‘आहुती’ पनि सहभागी हुने बताइएको छ।





