जुम्ला । नेकपा माओवादी केन्द्रका नेता कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर भण्डारीले नेता जनार्दनलाई एकता र आत्मसमालोचनाको आग्रह गर्दै खुला पत्र लेखेका छन् ।

पत्रमा अध्यक्ष भण्डारीले जनार्दनले हालै गरेको पत्रकार सम्मेलनले माओवादी कार्यकर्तामा चिन्ता र निराशा उत्पन्न भएको बताएका छन् ।
उनले लेखेका छन्, “यहाँले गर्नु भएको कदम प्रतिकृयावादी शक्तिका लागि सही देखिएला, तर देश र जनताको लागि होइन ।”
भण्डारीले पार्टी विभाजनले आन्दोलन कमजोर बनाउने चेतावनी दिँदै भनेका छन्, जनताले तपाईंप्रति ठूलो भरोसा राखेका छन्, त्यसलाई निराशामा नफेरौं । विभाजनको होइन, एकताको झण्डा बोकौं ।
वडा अध्यक्ष भण्डारीले जनार्दनलाई माओवादी पार्टीको ऐतिहासिक यात्रा नबिगार्न र अध्यक्ष कमरेडसँग हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन् । भण्डारीको भनाइमा, हामी तपाईंकै वैचारिक बाटोबाट प्रेरित छौं, अब फेरि पनि गल्ती सच्याएर प्रभावशाली नेता बन्न सक्नुहुन्छ ।
भण्डारीले विगतमा पार्टी फुटाएर गएको नेताहरूको हबिगत हेरेर शिक्षा लिनुपर्ने पनि बताएका छन् । हिजो पार्टी फुटाएर गएकाहरूले देश र जनताका लागि केही उपलब्धि दिन सकेनन्, उनले भनेका छन् ।
यदि उनीहरूले राम्रो गरेका भए आज जनताले उनीहरूलाई साथ दिने नै थिए । पत्रको अन्त्यमा उनले जनार्दनलाई पुनः पार्टी एकताको मार्ग रोज्न आग्रह गर्दै लाल सलाम प्रेषण गरेका छन् ।
भिम भण्डारीको यो पत्र हाल जुम्ला र सिँजा क्षेत्रमा चर्चाको विषय बनेको छ । राजनीतिक विश्लेषकहरूले पनि यसलाई माओवादी पंक्तिभित्र पुनः एकता र आत्ममूल्यांकनको संकेतका रूपमा लिएका छन् ।





