नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठसहितका दर्जनौँ नेता–कार्यकर्तालाई औपचारिक रूपमा पार्टीमा पुनः स्वागत गरेका छन ।

चार वर्षअघि एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपालको नेतृत्वमा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका यी नेताहरू फेरि एमालेमा फर्किएका हुन ।
राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले फर्किएका सबै नेताहरूलाई पार्टीको झण्डा र माला लगाएर स्वागत गरेका थिए ।
एमालेमा पुनः प्रवेश गर्ने नेताहरूमा झाँक्री र श्रेष्ठसँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिना, बबी चाम्लिङ, रूपा विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदारप्रसाद गौतमलगायत छन्। त्यस्तै, राम तिमिल्सिनाको नेतृत्वमा रहेका १ सय ३० जना जेन–जी प्रतिनिधिहरू पनि एमालेमा प्रवेश गरेका छन ।
एमालेले यस अभियानलाई ‘घर फर्क अभियान’ नाम दिएको छ। हालै नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट नेताहरूले एमालेमा फर्किने निर्णय गरेका हुन ।





