जुम्ला । नेकपा एमाले जुम्लाले संसद पुनःस्थापनाको राष्ट्रिय माग उठाउँदै जुम्ला बजार देखि नाग्म सम्म भव्य मोटरसाइकल र्याली र शक्ति प्रदर्शन सञ्चालन गरेको छ । सयौँ कार्यकर्ताको सहभागितामा सुरु भएको र्याली तिला गाउँपालिका–३ कुडारी पुगेर कोणसभामा परिणत भयो ।

कोणसभामा बोल्दै एमाले जुम्लाका उपाध्यक्ष प्रेम बुढाले एमाले देशकै सबभन्दा ठूला र जिम्मेवार राजनीतिक शक्तिमध्ये एक भएकाले कसैको दबाब वा अवरोधले पार्टीको आन्दोलन रोक्न नसक्ने स्पष्ट गरे । प्रतिगामी शक्तिहरूको विरुद्ध आफूहरू सदैव तयार रहेको बताउँदै उनले आन्दोलनका नाममा विध्वंस मच्चाउन नहुने चेतावनी दिए ।
त्यसैगरी, एमाले केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगीले नयाँ पुस्ताको आकर्षण तीव्र रूपमा एमालेतर्फ बढिरहेको दाबी गरे । युवाहरूको सक्रिय सहभागिताले एमालेप्रतिको जनविश्वास झनै मजबुत बन्दै गएको उनले बताए ।
योगीले एमाले देशको विकास, समृद्धि र राष्ट्रियताको पक्षमा सबभन्दा प्रतिवद्ध शक्ति भएको उल्लेख गर्दै विघटित संसद पुनःस्थापनाका लागि सडक संघर्ष जारी राखिएको जानकारी दिए। एमाले बिना देशमा राजनीतिक स्थायित्व सम्भव नहुने उनको भनाइ थियो ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले सुदृढताको दिशामा अघि बढिरहेको उल्लेख गर्दै, “नेपाल बिना एमाले र ओली बिना एमालेको कल्पनै सम्भव छैन,” भने । योगीका अनुसार आन्दोलनहरू जिम्मेवार, मर्यादित र जनमुखी हुन आवश्यक छ, न कि अराजक ।
यससँगै जुम्लामा देखिएको एमालेको शक्ति प्रदर्शनले संसद पुनःस्थापनाको राष्ट्रिय बहस र राजनीतिक तरङ्ग फेरि तेज बनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।





