जुम्ला । नेपाली कांग्रेस सुधार अभियानको जुम्ला जिल्ला संयोजकमा युवा नेता जंग रोकाया चयन भएका छन् । केन्द्रिय संयोजक समितिका संयोजक शिव रिमालले शुक्रबार देशभरका जिल्ला संयोजक तोक्दै रोकायालाई जुम्लाको संयाेजककाे जिम्मेवारी दिएका हुन् ।

कांग्रेस भित्र ४० वर्षमुनिका युवाको सम्मानजनक सहभागिता र निर्णायक प्रतिनिधित्व सुनिश्चित गर्न अभियानले लामो समय देखि आवाज उठाउँदै आएको छ। पार्टीका हरेक तहमा परिवर्तनको लहर अब युवाबाटै सुरु हुनुपर्छ,” रोकायाले संयोजकमा चयन भए पछि भने ।
अभियानले पार्टीमा आमूल सुधार, सुशासन स्थापना र रूपान्तरणका लागि लक्षित कार्यक्रम अघि बढाइरहेको छ। विशेष गरी पार्टीका तर्फबाट स्थानीय, प्रादेशिक तथा संघीय तहका सबै चुनावमा ४० वर्षमुनिका ४० प्रतिशत युवा उम्मेदवारको प्रतिनिधित्व अनिवार्य बनाउन दबाब सिर्जना गर्न संयोजन समिति सक्रिय हुने राेकायाकाे भनाइ छ ।
त्यस्तै, उम्मेदवार छनोटमा पारदर्शिता हुनुपर्छ भन्दै प्राइमरी इलेक्सन अनिवार्य गराउनुपर्ने माग समितिको प्रमुख एजेन्डामा रहेकाे उनकाे भनाइ छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई संस्थागत बनाउने हाम्रो लक्ष्य हो ।
सुधार अभियानको सुरुआती चरणमा प्रतिनिधिमूलक ढंगले देशभर समिति गठन भइरहेको र यसले पार्टीभित्र नयाँ बहस, पैरवी र उत्तरदायित्वको संस्कार स्थापित गर्ने अपेक्षा गरिएको छ।
नयाँ संयोजक जंग रोकाया नेपाली कांग्रेस जुम्ला क्षेत्र (ख) का पार्टी सचिव समेत हुन्। उनी तिला गाउँपालिका–६ बाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित समेत भइसकेका छन् । युवा जनसमर्थन र संगठनात्मक क्षमताका कारण रोकायालाई जिम्मेवारी दिइएको कांग्रेस नेताहरूको भनाइ छ।





