जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार बन्ने सपना बोकेर लामो समय देखि दौडधुप गरिरहेका माधव चौलागाईको राजनीतिक मोड अचानक त्यसरी बदलियो, जसले जुम्ला लाई छक्क पारेकाे छ ।

नेकपा एमालेको कोटामा रजिस्ट्रार बन्ने प्रयासमै सक्रिय देखिएका चौलागाई एकाएक सुशीला कार्की नेतृत्वको सरकारले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी समेत सम्हाल्ने मौका पाए पछि कर्णालीकाे राजनीतिमा नयाँ अध्याय खुलेको छ ।
रजिस्ट्रार पद पाउन चलि रहेका सम्पर्क, दबाब र रणनीतिले अन्ततः उनीलाई नयाँ उचाइमा पुगाइ दियो क्याबिनेट देखि सचिवालय सम्म । जुम्ला जस्तो पहाडी जिल्ला बाट केन्द्रीय राजनीति र मन्त्रालय सम्मको यात्रा सहज मानिँदैन, तर चौलागाईको यो अचानक हवाई उडान हालैको राजनीतिक समीकरणको सबै भन्दा चर्चित घटनामा बदलिएको छ ।
पञ्चायत पछि पहिलो पटक जुम्लालाई क्याबिनेट तहको मन्त्री दिएको घटनाले पनि जिल्लामा उत्साह र राजनीतिक तापक्रम दुवै बढाएको छ ।
कर्णालीको भौगोलिक कठिनाइ, विकासका चुनौती र विगतका लामो समय देखिका राजनीतिक उपेक्षा बीच जुम्लाले अब सिंहदरबारमा पहिलो पटक सशक्त आवाज पाउने अपेक्षा जनाइएको छ ।
स्थानीय नेता देखि आम नागरिक सम्म चौलागाईको यस करियर ट्विस्ट लाई जुम्लाको राजनीतिक प्रतिष्ठा सँग जोडेर हेर्न थालेका छन् । रजिस्ट्रार बन्ने लक्ष्य लिएर सुरु भएको उनकाे यात्रा क्याबिनेट सम्म पुग्दा उनी अब कर्णालीका स्रोत, वन, वातावरण र पारिस्थितिक चासोलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने जिम्मेवारीमा छन् ।
जुम्लाले ४१ वर्षपछि पाएको यो ठूलो अवसर कति प्रभावकारी हुन्छ भन्ने हेर्न बाँकी छ । तर चौलागाईको यो नाटकीय उचाइ, एमालेको कोटा बाट रजिस्ट्रार देखि मन्त्री पदसम्म हाल जुम्ला र कर्णाली दुवैको राजनीतिक चर्चा बनेको छ ।





