जुम्ला । नेपाली काँग्रेस जुम्लाले अन्ततः प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि २२ जनाको नाम केन्द्रमा सिफारिस गर्दै उम्मेदवार छनोटको प्रक्रिया टुंग्याएको छ । एकल नाममा सहमति जुटाउने लामो प्रयास गर्दा पनि असफल भए पछि जिल्ला समितिले सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गर्दै टुंग्याएकाे हाे ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस जुम्लाबाट चार जनाको नाम सिफारिस गरिएको छ । जसमा पार्टी सभापति कर्ण बहादुर शाही, पूर्व सांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आचार्यकाे नाम प्रतिनिधि सभा सदस्यका आकांक्षीका रूपमा केन्द्र पुगेकाे छ ।
सुरुवाती चरणमा कान्तिका सेजुवाल र कर्ण बहादुर शाही मध्ये एक जनामा सहमति बनाउने प्रयास भए पनि अन्ततः सहमति नजुट्दा चारै जनाको नाम केन्द्रमा पठाइएको हो ।
मंसिर २४ गते देखि निरन्तर चलेकाे औपचारिक तथा अनौपचारिक बैठकले जिल्ला भित्रको राजनीतिक तापक्रम बढाइरहे पनि उम्मेदवार छनोटमा निर्णायक मोड लिन नसकेको काँग्रेस जुम्लाले केन्द्रको निर्णय नै अन्तिम भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।
त्यसैगरी समानुपातिक तर्फ पनि १४ जनाको नाम सिफारिस गरिएको छ । जनजाति तथा पिछडिएको क्षेत्र बाट पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, खस–आर्य समूहबाट धन बहादुर बस्नेत, गोविन्द बहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मी प्रसाद आचार्य र परेकलाल घर्ती रहेका छन् ।
दलित तर्फ गोरख बहादुर सुनार, महिला तथा दलित तर्फ माया नेपाली, महिला तर्फ नेत्र कला शाही र नविना के.सी बडुवाल तथा अन्यमा कर्णजंग हमाल, जयन्ती आचार्य, लाल बहादुर जिसी र रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ ।
यस्तै राष्ट्रिय सभाका लागि पनि चार जनाको नाम केन्द्रमा पठाइएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ । काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वमन्त्री भक्त बहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रिय सभाका उम्मेदवारका आकांक्षीकाे नाम केन्द्रमा पठाइएको छ।
जिल्लामा सहमति नजुटे पछि सबै आकांक्षीको नाम सिफारिस गरिएको र अब केन्द्रले जसको नाम सदर गर्छ, त्यही व्यक्ति नेपाली काँग्रेस जुम्लाको आधिकारिक उम्मेदवार बन्ने पार्टीले जनाएको छ । जुम्लामा काँग्रेसको उम्मेदवार छनोट प्रक्रिया यस पटक आकांक्षाको भीड र सहमतिको अभावले चर्चामा आएको छ।





