जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन – २०८२ लाई लक्षित गर्दै नेकपा एमाले जुम्लामा उम्मेदवार छनोटको बहसले नयाँ मोड लिएको छ ।
फागुन २१ लाई लक्षित गर्दै नेकपा एमाले जुम्लामा उम्मेदवार छनोटको विषयलाई लिएर पार्टीभित्र आन्तरिक राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । पुराना नेता र युवा पुस्ताबीच उम्मेदवारीलाई लिएर रस्साकसी सुरु भएको बताइएको छ ।
पार्टी केन्द्रले प्रत्यक्षतर्फ एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि जुम्ला जिल्ला कमिटी भने एकल र बलियो उम्मेदवार सिफारिस गर्ने गृहकार्यमा जुटेको बुझिएको छ ।

गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रतननाथ योगी, प्रदेशसभा उम्मेदवार धिरेन्द्रराज गिरी, पूर्व जिल्ला अध्यक्ष बलबहादुर महत र हालका जिल्ला अध्यक्ष शान्तिलाल महत बीच मुख्य प्रतिस्पर्धा चलिरहेको छ । यसैबीच, कर्मचारी संगठनबाट राजनीतिमा आउने नेता जीवन भण्डारीले पनि अनुकूल वातावरण बने आफू चुनावी मैदानमा उत्रने संकेत दिएका छन ।
जुम्ला जिल्ला कमिटी भित्र भने एकीकृत र युवामैत्री उम्मेदवार सिफारिस गर्नुपर्ने मत बलियो बन्दै गएको बुझिएको छ ।
यसै सन्दर्भमा जुम्लाका युवा नेताहरू आदि प्रसाद न्यौपाने, निर्पेन्द्र महत र धर्मेन्द्र रोकायाले पार्टीलाई जुम्लाबाट नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जेन्जी आन्दोलनको मर्म बोकेको नेतृत्व आवश्यक रहेको बताएका छन । उनीहरूका अनुसार, अहिलेको राजनीतिक परिवेशमा पुरानै अनुहार दोहोर्याउने भन्दा युवालाई अवसर दिनु पार्टी र जिल्लाको भविष्यका लागि रणनीतिक निर्णय हुनेछ । यद्यपि पार्टीका पाका अनुभबी र अब्बल नेताहरुलाई नै प्राथमिकता रहनेमा हामी पनि सकारात्मक छौ ।
यद्यपि युवा नेताहरूले एमालेले जुम्लामा एकीकृत, सशक्त र प्रतिस्पर्धी चुनावी उपस्थितिको संकेत दिन यस पटक युवा उम्मेदवार अघि सार्नुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन । उनीहरूले पार्टी नेतृत्व र जिल्ला कमिटी समक्ष आफूहरूलाई उम्मेदवार बनाइदिन अपिल समेत गरेका छन ।
युवा नेताहरूले जुम्लामा पुरानो एमालेको जनाधार पुनःजागृत गर्न र पार्टीको विरासतलाई नयाँ पुस्ता सँग जोड्न आफूहरू सक्षम रहेको दाबी पनि गरेका छन ।
यसबीच, नेकपा एमाले जुम्लाको जिल्ला कमिटी बैठक यही २० गते बस्दैछ । उक्त बैठकले उम्मेदवार सिफारिसका विषयमा युवा प्राथमिकता कि अनुभव सन्तुलन भन्ने प्रश्नमा निर्णायक दिशा दिने अपेक्षा गरिएको छ ।





