काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ । आयोगले आइतबार देशभरका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू तोकेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको छ ।
नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गते देखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।






