जुम्ला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि छनोट समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लाबाट नरेश भण्डारी र दलबहादुर जिसीको नाम सिफारिस गरेको छ ।

पार्टीभित्र लामो छलफल र आन्तरिक मूल्यांकनपछि दुई जनाको नाम अन्तिम सूचीमा राखेर केन्द्रमा पठाइएको हो । प्रतिनिधि छनोट समितिका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य तीर्थबहादुर बुढाका अनुसार यसअघि जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारका लागि नवराज न्यौपाने, दलबहादुर जिसी, हरी रावल, रविकिरण, अमराज शाही र नरेश भण्डारी गरी छ जनाको नाम प्रारम्भिक रूपमा सिफारिस गरिएको थियो ।
ती सबैको राजनीतिक योगदान, संगठन भित्रको भूमिका र स्थानीय स्तरमा प्रभावको आधारमा छलफल गर्दै अन्ततः दुई जनाको नाम छनोट गरिएको उनले बताए । छनोट समितिको निर्णय अनुसार नरेश भण्डारीलाई पहिलो प्राथमिकतामा र दलबहादुर जिसीलाई दोस्रो प्राथमिकतामा राखेर सिफारिस गरिएको केन्द्रीय सदस्य बुढाको भनाइ छ ।
प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरिएको छैन, उनले भने, केन्द्रमा दुई जनाको नाम पठाइएको छ र अन्तिम निर्णय पार्टी केन्द्रले गर्नेछ । उनका अनुसार, अनुसार प्रतिनिधि छनोट कार्यदलले विधिवत् निर्णय गरेर नाम सिफारिस गरेको हो ।
पार्टीका केन्द्रीय सदस्यहरूले सोही निर्णयलाई अनुमोदन गर्दै केन्द्रमा पठाएका छन् । दुई जनामध्ये जसलाई पनि उम्मेदवारका रूपमा अघि सार्न सकिने अवस्था रहेको उनकाे भनाइ छ ।
नेकपाभित्र उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र समावेशी बनाउन विभिन्न तहमा छलफल गरिएको र स्थानीय संगठनको मतलाई समेत ध्यानमा राखिएको पार्टीले जनाएको छ ।
जुम्लामा पार्टी संगठन मजबुत रहेको र निर्वाचनलाई लक्षित गर्दै थप तयारी अगाडि बढाइने पनि जनाइएको छ ।
अब पार्टी केन्द्रको निर्णयपछि जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारको टुंगो लाग्नेछ । उम्मेदवार तय भएसँगै नेकपाले निर्वाचन अभियानलाई तीव्रता दिने तयारी गरेको छ ।





