जुम्ला । जुम्ला जिल्लामा संघीय राजमार्ग तथा भित्री सडक क्षेत्रमा अतिक्रमणको क्रम बढ्दै गएपछि सडक डिभिजन कार्यालय जुम्लाले कडाइका साथ कदम चालेको छ ।

सडक सतह, नाली र संरचनामै प्रत्यक्ष असर पर्ने गरी जथाभावी निर्माण तथा अवरोध हुन थाले पछि कार्यालयले जिल्लाका सात वटै स्थानीय तहलाई औपचारिक रूपमा सचेत गराउँदै पत्राचार गरेको हो ।
सडक डिभिजन कार्यालयका अनुसार चन्दननाथ नगरपालिका, तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका विभिन्न स्थानमा सडकको दायाँ, बायाँ निजी घर, टहरा तथा अस्थायी संरचना निर्माण गर्ने, सडक छेउमै माटो ढुंगा थुपार्ने र नाली पुरिने समस्या बढ्दो अवस्थामा पुगेको छ ।
यस्ता गतिविधिले सडक संरचनालाई कमजोर बनाउँदै दीर्घकालीन क्षतिको जोखिम बढाएको कार्यालयको गुनासाे रहेकाे छ । कार्यालयले जारी गरेको पत्रमा सडक सतह र नाली अवरुद्ध हुँदा वर्षायाममा सडक भत्किने, सवारी आवागमन अवरुद्ध हुने र दुर्घटनाको सम्भावना उच्च हुने उल्लेख गरिएको छ। सडकलाई सुरक्षित, सहज र दिगो बनाइ राख्न तत्कालै यस्ता कार्य रोक्न स्थानीय तहलाई आग्रह गरिएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख श्रवण कुमार महताराले संघीय राजमार्ग तथा नाम नामावलीमा सूचीकृत सडक राज्यको सम्पत्ति भएको स्पष्ट पार्दै अनुमति बिना गरिने कुनै पनि किसिमको अतिक्रमण गैरकानुनी हुने बताएका छन् ।
उनका अनुसार, स्थानीय तहको समन्वय र स्वीकृति बिना भइरहेका निर्माण तथा अवरोधले सडक संरचना जोखिममा परेको बताए । उनले भने, समयमै नियन्त्रण नगरे कडा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आउन सक्छ।
उनका अनुसार सडकको दायाँ–बायाँ निश्चित सीमा क्षेत्र भित्र निर्माण, सामग्री थुपार्ने वा नाली पुरिने काम रोक्न स्थानीय तहले अग्रसर भूमिका खेल्नुपर्ने देखिएको छ। सडक मर्मत तथा विस्तारका क्रममा उपभोक्ता समिति र ठेक्कापट्टा बाट हुने काममा समेत निगरानी आवश्यक रहेको उनको भनाइ छ।
पत्रमार्फत सडक डिभिजन कार्यालयले स्थानीय तहलाई आफ्ना वडा तह सम्म जानकारी पुर्याउन, अवैध संरचना हटाउन पहल गर्न र सडक सुरक्षा सम्बन्धी मापदण्ड कार्यान्वयन गर्न आग्रह गरेको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला समन्वय समितिलाई समेत जानकारी गराइएको कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालयले सडक सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय सरकार, सर्वसाधारण र सरोकारवाला सबैको सहकार्य अपरिहार्य रहेको जनाएको छ । समयमै नियन्त्रण र सचेतना नअपनाए जुम्लाका मुख्य सडकहरू थप जोखिममा पर्न सक्ने भन्दै कार्यालयले गम्भीर ध्यानाकर्षण गराएको छ ।





