सोलुखुम्बु । रेड पाण्डा संरक्षणको सन्देश फैलाउने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा रन २०२६’ आयोजना हुने भएको छ । रेड पाण्डा नेटवर्कको आयोजनामा आगामी ५ सेप्टेम्बर २०२६ (शनिबार) प्रतियोगिता हुने भएको हो ।
आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत ४५ किलोमिटर रेड पाण्डा म्याराथन तथा ५ किलोमिटर रेड पाण्डा फन रन/कम्युनिटी रन सञ्चालन गरिनेछ । कार्यक्रमको मुख्य उद्देश्य रेड पाण्डा तथा यसको बासस्थान संरक्षणप्रति स्थानीय समुदाय, धावक र पर्यटकमा सचेतना अभिवृद्धि गर्नु रहेको छ ।

५ किलोमिटर फन रनको रुटमा थेच्छेन पेमा छोलिङ गुम्बा, सर्गा खोप, टोङ्बा डाँडा, फाप्लु र थुलो घर लगायतका स्थान समेटिएका छन । प्रतियोगिताले खेलकुद सँगै सोलुखुम्बुको प्राकृतिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।
म्याराथनमा आकर्षक पुरस्कार
४५ किलोमिटर रेड पाण्डा म्याराथनमा महिला र पुरुष तर्फ समान पुरस्कार व्यवस्था गरिएको छ । दुवै विधामा प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैयाँ र चौथोले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन ।
त्यस्तै, वन संरक्षक (Forest Guardian) विधामा प्रथमलाई २५ हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
रेड पाण्डा कम्युनिटी रनतर्फ प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र चौथोलाई ५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ । यस विधामा कुल १५ जना विजेता रहने आयोजकले जनाएको छ ।
सहभागिताका लागि शुल्क
४५ किलोमिटर रेड पाण्डा म्याराथनमा अन्तर्राष्ट्रिय सहभागीका लागि ५ हजार रुपैयाँ र नेपाली नागरिकका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
त्यस्तै, रेड पाण्डा कम्युनिटी रनमा अन्तर्राष्ट्रिय सहभागीले २ हजार, नेपाली नागरिकले १ हजार ५०० र सोलुखुम्बुका स्थानीय सहभागीले ५०० रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ । स्थानीय श्रेणीमा सहभागी हुन सोलुखुम्बुबाट जारी नागरिकता आवश्यक पर्ने व्यवस्था गरिएको छ ।
आयोजकले प्रतियोगिता मार्फत ‘Beyond the Summit’ भन्ने सन्देश सहित हिमाली क्षेत्रको जैविक विविधता, विशेषगरी रेड पाण्डाको संरक्षणलाई खेलकुदसँग जोड्ने प्रयास गरेको जनाएको छ ।
रेड पाण्डा नेपालको हिमाली तथा उच्च पहाडी वन क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हो । यसको बासस्थानमा भइरहेको वन विनाश, बासस्थान खण्डीकरण तथा अन्य मानवीय गतिविधिका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्ता कार्यक्रमले संरक्षण अभियानलाई समुदायस्तरसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आयोजकले उपलब्ध गराएको अनलाइन दर्ता फारम मार्फत नाम दर्ता गर्न सक्नेछन । प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि आयोजकले marathon@redpandanetwork.org मा सम्पर्क गर्न सकिने जनाएको छ । जुम्लाको लागि हातेमालो नेपालमा सम्पर्क समेत गर्न सकिने छ ।





