प्रतीकमा कविता लेख्नु नौलो होइन । सबै कविहरुले प्रतीकमा कविता लेख्छन् । तर यस्ता कवितामा केही मूलभूत प्रश्नहरुका उत्तर भने कविहरुले कहिल्यै दिदैँनन् र अस्पष्ट संसारमा कविको प्रतीकले झन अस्पष्टता सिर्जना गर्छ ।

जब कुनै अमूर्त र अस्पष्ट विषय वा अवधारणा बारे प्रष्ट पार्नु पर्यो भने हामी कुनै अन्य मूर्त बस्तुलाई प्रतीकको रुपमा उपयोग गर्छौं । कुनै ” क ” भन्ने बस्तुलाई अर्को कुनै ” ख ” भन्ने अमूर्त अवधारणाको प्रतीक बनाइन्छ । ” ख” भन्ने बस्तु वा अवधारणा संसारमा अस्तित्वमा हुन पनि सक्छ नहुन पनि सक्छ । यसरी ” क” भन्ने संकेत वा चिन्हले “ख” भन्ने बस्तुलाई चिनाइन्छ , बुझाइन्छ । अनि कविलाई लाग्छ कि ” ख” को अर्थ प्रष्ट भयो । तर कवि भएको काव्यीक संसारमा ” क ” नामक बस्तु ” ख” को प्रतीक हुन सक्छ भने बिज्ञानको Theory of Induction अनुसार ” ख ” भन्ने बस्तु पनि अर्को ” ग ” भन्ने बस्तुको प्रतीक हुनु पर्ने हुन्छ , ” ग” भन्ने बस्तु ” घ ” भन्ने बस्तुको प्रतीक हुनु पर्ने हुन्छ र यो शृङ्खला अनन्त क्रमसम्म चलिरहन्छ । यहाँ एउटा अन्धविश्वास ( Assumption) के गर्नु पर्छ भने ” क ” चाहिँ मूर्त बस्तु हो जुन शंकास्पद हो । जुन संसारमा “ख” अमूर्त हुन्छ त्यो संसारमा ” क ” मूर्त छ भनेर पत्याउन सकिन्न । अर्थात कवि प्रतीकहरुको आडमा एउटा काल्पनिक संसार बनाउन लागिपरेको छ । यो काल्पनिक संसारमा कुखुरा कुखुरा नभएर अरु थोक हो , नदी नदी नभएर अरु थोक हो, घाम घाम नभएर अरु थोक हो , प्रेम प्रेम नभएर अरु थोक हो , श्रम श्रम नभएर अरु थोक हो, सुन्दरता सुन्दरता नभएर अरु थोक हो । हामी बसेको संसार त काल्पनिक रहेछ जहाँ मानिस पनि मानिस नभएर अरु थोक हो । हामीले जसलाई फूल भनेर बुझेका रहेछौं त्यो त अर्कै रहस्यमय बस्तु पो रहेछ ।
Theory of Induction अनुसार ” क ” बस्तु ” ख” को प्रतीक हो भने ” ख ” बस्तु पनि ” ग ” को प्रतीक हुनु पर्छ । यदि हुँदैन भने कविले झुट बोलिरहेको छ र प्रतीक भन्ने कुनै चीज यो संसारमा हुनै सक्दैन । उदाहरणको लागि कविले फूललाई जीवनको प्रतीक भन्छ भने यहि तर्क अनुसार जीवन अन्य कुनै बस्तुको प्रतीक हुनुपर्छ । त्यसो हो भने जीवन के को प्रतीक हो त ? फूलको अर्थ जीवन हो भने जीवनको अर्थ के हो त ? कविले कुनै उत्तर दिँदैन । कवि यहाँ अन्धविश्वासी र अबैज्ञानिक बन्छ । हुनु पर्ने त के हो भने फूल जीवनको अर्थ हो भने जीवन ईश्वरको ( वा अन्य कुनै वस्तुको) अर्थ हो , ईश्वर संसारको अर्थ हो , संसार फूलको अर्थ हो र अर्थहरुको यो चक्र अनन्त कालसम्म चलिरहन्छ । फूलबाट सुरु भएर फूलमा सकिने यो चक्रलाई हेर्दा यसरी पनि भन्न सकिन्छ – फूल भनेको फूल मात्र हो ? फूलको अर्थ जीवन हुनै सक्दैन । जीवनलाई बुझ्न नसकेर फूल भनेर बुझ्ने कविले फूललाई बुझेको छ भनेर कसरी पत्याउने ? जीवन फूल हो भन्ने कविले किन भन्दैन – फूल के हो ? प्रतीकहरुको सहारा लिएर कवि भुलभुलैया जस्तो भ्रामक अर्थ न वर्थको संसार बनाउँछ । कविले प्रतीकहरुको भुलभुलैयामा पारेर पाठकहरुलाई मूर्ख बनाउँछ । कवि, पाठक, समालोचक सबैलाई यस्तै भुलभुलैया मन पर्छ । मानिसलाई छल र मायाले भरिपुर्ण संसार मन पर्छ । छल , झुट र भ्रमहरुले भरिएको संसार नै रमाइलो र रोमान्चक हुन्छ ।
जीवन अमूर्त छ , अस्पष्ट छ । यसलाई न छुन सकिन्छ , न हेर्न, न सुँघ्न । तर सबैलाई फूल जस्तो जीवन चाहिएको छ जसलाई हेर्न, छुन र सुँघ्न सकियोस् , रोप्न र हुर्काउन सकियोस् । जीवन भन्ने चीजको चरित्र एक किसिमको छ , तर हामीलाई अर्कै चरित्र भएको जीवन चाहिएको छ । कवि लगायत सबै मानिसहरुको यो कस्तो अन्धविश्वास हो ? एक ग्राम जीवन कतै किन्न पाइन्न तर सबै मानिसहरुलाई फूलको पसलमा किन्न पाइने बुकी जस्तो जीवन चाहिएको छ ? यो कस्तो अन्धविश्वासी संस्कृति हो ? त्यही छुन नसकिने , देख्न नसकिने, सुँघ्न नसकिने जीवन बाँच्नमा गौरव मान्नु पर्ने होइन र ? फूलको बुकी खोज्दै हिड्नु पर्छ र ?
मानिस सत्यलाई जस्ताको त्यस्तै हेर्न सक्दैन । सत्यलाई देख्नासाथ उसको सातो जान्छ जसरी अमूर्त ,अस्पष्ट जीवन भन्ने चीज हेरेर उसको सातो गएको छ । ऊ सत्य लुकाएर बनाइएको , भ्रम र छलहरुले भरिएको संसारमा बस्न रुचाउँछ । ऊ कविले रचेको ” जीवन फूल हो ” भन्ने भ्रमपुर्ण संसारमा बस्न रमाउँछ र कवि पनि प्रतीकहरुले भरिएको छलपुर्ण संसार निर्माण गरिरहन्छ ।
संसार जस्तो छ त्यस्तै देख्न, सुन्न र बुझ्न सक्नु पर्ने होइन र मानिसहरुले ? तर बास्तबिकता त्यस्तो हुँदैन । मानिसहरु
संसार जस्तो छ त्यस्तै देख्न, सुन्न र बुझ्न चाहँदैनन् । मानिसहरु संसारलाई आनन्दित हुने किसिमले बुझ्न चाहन्छन् । हामी संसारलाई प्रतीकहरुको भुलभुलैयाले बुझ्न चाहन्छौं । हामी संसारलाई टेढोमेढो तरिकाले बुझ्न चाहन्छौं । हामी जीवनलाई जीवन भन्न डराउँछौ र प्रतीकको शरणमा परेर यसलाई फूल भन्छौं । कविले मानिसहरुको यहि कमजोरीको फाइदा उठाएर प्रतीकहरुले भरिएको भ्रमपुर्ण, मायावी संसार रच्छ । कवि माया, छल , कपटहरुले रचिएको संसारको सम्राट हो । बिडम्बना अझै के हो भने एउटै फूललाई कविले कुनै बेला जीवन भन्छ , कुनै बेला प्रेमिका भन्छ, कुनै बेला छोराछोरी भन्छ, कुनै बेला सुख भन्छ , कुनै बेला घर भन्छ, कुनै बेला समाज भन्छ । यो कवि हो कि छलछाम गर्ने छली हो ? कविले दु:खलाई काँडा भन्छ , आकाशलाई स्वतन्त्रता भन्छ ! आगो भनेको क्रान्ति हो रे ! बाढी भनेको परिवर्तन हो रे ! त्यसो भए क्रान्ति के को प्रतीक हो ? परिवर्तन के को प्रतीक हो ? स्त्री शक्तिको प्रतीक हो भने शक्ति के को प्रतीक हो ? कवि त आफुखुसी जे मन लाग्यो त्यही गर्ने मगज खुस्किएको कुनै तानाशाह पो रहेछ ! समालोचक नि ? समालोचक बास्तवमा मगज खुस्किएको तानाशाहको सल्लाहकार हो ! तपाईंले कहिल्यै कुनै समालोचकले फूल जीवन होइन भनेर प्रतिवाद गरेको सुन्नु भएको छ ! स्त्री शक्तिको प्रतीक हो भने शक्ति के को प्रतीक हो भनेर कुनै समालोचकले कविलाई प्रश्न गरेको सुन्नु भएको छ !
यो संसार प्रतीकै प्रतीकहरुले भरिएको छ भने वास्तविक संसार कहाँ छ त ?





