जुम्ला । कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको चन्दननाथ–भैरवनाथ मन्दिरमा घटस्थापनाको अवसर पारेर नयाँ लिङ्गो फेरिएको छ । चन्दननाथ नगरपालिका–५ स्थित मुख्य बजारमा रहेको मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने परम्पराअनुसार यस वर्ष पनि विधिपूर्वक नयाँ लिङ्गो ठड्याइएको हो ।

चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो फेरिएको छ । त्यस्तै, भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो राख्ने परम्परा छ । दुवै मन्दिरमा लिङ्गोसँगै सोहीअनुसारको ध्वजा राख्ने चलनसमेत रहेको उहाँले बताउनुभयो ।
जुम्लामा घटस्थापनाको आफ्नै विशिष्ट धार्मिक महत्त्व छ । यहाँका स्थानीयवासीले मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै आ–आफ्नो घरमा घटस्थापना गरी जमरा राख्ने गर्छन् । चन्दननाथ मन्दिरबाट माटो ल्याएर जमरा राख्ने प्रचलनले पनि यस क्षेत्रको धार्मिक आस्था र परम्परालाई झल्काउँछ ।
वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि देवीदेवताले प्राकृतिक विपद्बाट रक्षा गरून् भन्ने विश्वासका साथ चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो राख्ने गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । भैरवनाथ मन्दिरमा भने ४८ हाते लिङ्गो राख्ने चलन छ ।
लिङ्गो फेर्नु यहाँको धार्मिक विधिमा मात्र सीमित छैन, कृषि संस्कृतिसँग पनि जोडिएको छ । लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा छ । यसले मार्सीधानको उत्पादन वृद्धि हुने र किसानमा उत्साह थपिने धार्मिक तथा सांस्कृतिक विश्वास रहेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभयो ।
चन्दननाथ–भैरवनाथ मन्दिरसँग जोडिएका परम्परा विगतमा कर्णालीका विभिन्न जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकसमेत थिए । दशक अघिसम्म कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि आवश्यक धार्मिक सामग्री पठाउने चलन थियो । जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ र मह, हुम्लाबाट ठेटुवा तथा मुगुबाट मास, मुगी दाल र राडीपाखीलगायत सामग्री ल्याउने गरिन्थ्यो ।
तर, समयक्रमसँगै जिल्लाहरूबीच धार्मिक सामग्री आदानप्रदान गर्ने उक्त परम्परा अहिले रोकिएको संस्कृति जानकार रमानन्द्र आचार्य बताउनुहुन्छ ।
धार्मिक आस्था, कृषि परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको चन्दननाथ–भैरवनाथ मन्दिरको लिङ्गो फेर्ने चलनले जुम्लाको मौलिक संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जीवन्त राखेको छ ।





