जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लाई लक्षित गर्दै नेकपा एमाले जुम्लाले विकास, स्वास्थ्य, ऊर्जा र रोजगारी केन्द्रित महत्त्वाकांक्षी वाचापत्र सार्वजनिक गरेको छ ।

सडक विस्तारदेखि स्याटेलाइट अस्पताल निर्माण र २० मेगावाट जलविद्युत् उत्पादनसम्मका प्रतिबद्धतासहित एमाले जुम्ला चुनावी मैदानमा उत्रिएको हो । एमाले जुम्लाले बिहीबार घरदैलो अभियानमार्फत मतदातासम्म पुर्याउने उद्देश्यसहित वाचापत्र सार्वजनिक गरेको छ ।
वाचापत्रमा जुम्लाको दीर्घकालीन विकासलाई आधार मानेर पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य र ऊर्जालाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।
एमालेको वाचापत्र अनुसार मुख्य राजमार्गसँग जोडिएका जिल्लाका आठवटै स्थानीय तहका ग्रामीण सडक कालोपत्र गरिनेछ। कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने, पातारासी–डोल्पो नाक्चेलाग्ना सडक निर्माण अघि बढाउने र जुम्ला, डोल्पा, मनाङ र मुस्ताङलाई जोड्ने बहुप्रतीक्षित सडक आयोजना सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।
पूर्वाधारसँगै स्वास्थ्य क्षेत्रलाई समेत एमालेले चुनावी एजेन्डाको केन्द्रमा राखेको छ । एमाले उम्मेदवार शान्तिलाल महतले सिंजामा स्याटेलाइट अस्पताल निर्माण गर्ने वाचा गर्दै स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच सुनिश्चित गरिने बताएका छन् ।
कृषि उत्पादनको बजारीकरण, एक पालिका एक संकलन केन्द्र जस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेका छौ । महतले भने, स्वास्थ्य, शिक्षा र रोजगारीमा देखिएको खाडल पूर्ति गर्न ठोस योजना अघि सारेका छौ ।
ऊर्जा क्षेत्रमा एमाले जुम्लाले जुम्लाको पानी, राज्यको लगानी भन्ने नारालाई अघि सार्दै तातोपानी–४ स्थित गिडिदह क्षेत्रबाट बग्ने पानी प्रयोग गरी २० मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना वाचापत्रमा समेटिएको छ ।
स्थानीय स्रोत र साधनमै आधारित भएर ऊर्जा उत्पादन गर्ने यो योजनालाई एमालेले जुम्लाको आर्थिक रूपान्तरणको आधार मानेको छ । महतले आफू अति महत्त्वाकांक्षी सपना नभई स्थानीय स्रोतले धान्न सक्ने योजना मात्र लिएर जनता माझ गएको दाबी गरेका छन् ।
जुम्लाको विकास सम्भावनालाई व्यवहारिक योजना मार्फत अघि बढाउने मेरो लक्ष्य हो,उनले भने, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा देखिने परिणाममुखी कामको थालनी गर्ने वाचा गर्दछु।
वाचापत्रमा बढ्दो भ्रष्टाचार र कुशासन विरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता पनि गरिएको छ । महतले आफू जुम्ली जनताको आवाज संसदमा बुलन्द बनाउन उम्मेदवार बनेको बताए । डिजिटल प्रविधिको प्रयोग मार्फत स्वास्थ्य सेवा विस्तार गर्ने योजना पनि एमालेको वाचापत्रमा समेटिएको छ ।
डिजिटल हेल्थ मोबाइल एप विकास, टेलिमेडिसिन सेवा विस्तार, स्थानीय जडीबुटीको अनुसन्धान, उत्पादन र प्रवर्द्धन, आयुर्वेद, ग्रामीण मेडिसिन तथा योग शिक्षा केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ ।
शिक्षा र उद्योग क्षेत्रतर्फ कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालयमा रूपान्तरण गर्ने, सिंजामा विशेष औद्योगिक आर्थिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिएको छ ।
साथै स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ, बजारीकरण र मूल्य श्रृंखला सुधार गर्ने, वन,कृषि, जडीबुटी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्ने र एक पालिका एक चिस्यान केन्द्र निर्माण गर्ने कार्यक्रम पनि वाचापत्रमा समावेश गरिएको छ ।
एमाले जुम्लाले प्रस्तुत गरेको वाचापत्रले विकासको दीर्घकालीन खाका कोरेको दाबी गरिए पनि यसको कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न मतदाताको विश्वास र आगामी चुनावी नतिजा सँग जोडिएको छ ।





