नेकपा एमालेका जुम्ला जिल्ला कमिटिका अध्यक्ष शान्तिलाल महत प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन । अहिले जुम्लाका कुना कन्दरा गाउँ बस्तिहरुमा दौडधुपमा ब्यस्त रहेका छन । यसै बिच उम्मेदवार सँग गरिएको संबाद

चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
म गाउँगाउँमा पुगिरहेको छु । अहिले मेरो मुख्य काम भनेको जनताका कुरा सुन्नु हो । उहाँहरूका गुनासा, समस्या र आकाङ्क्षाहरू के छन्, त्यो सुन्दैछु । जनताको समस्या नबुझी योजना बन्दैनन् । त्यसैले अहिले म मतदाताको घरदैलोमा पुगेर उहाँहरूको भावना सुन्ने र बुझ्ने काम गरिरहेको छु । जनताको समस्या समाधान गर्ने प्रयत्न पनि गरिरहेको छु । आफनो स्थानिय बाचा पत्र जनताको दैलो दैलोमा पुगेको छ ।
मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
आम मतदातामा एउटा ठूलो सचेतना आएको पाएको छु । २०४६ सालदेखि अहिलेसम्म आइपुग्दा धेरै पटक आश्वासन दिइयो, धेरै पटक ढाँट्ने र छल्ने काम भयो भन्ने गुनासो जनतामा छ । तर यस पटक मतदाता धेरै नै ‘अवेयर’ भइसक्नुभएको छ ।
अब भोट दिँदा आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन, राष्ट्रको भविष्य र आगामी सन्ततिको भाग्यका लागि सोच्नुपर्छ भन्ने चेत पलाएको छ । मतदाताहरू भन्दै हुनुहुन्छ यो मत होइन, हामी राष्ट्रका लागि दान गर्दैछौँ । यो सचेतनाले मलाई निकै उत्साहित बनाएको छ ।
जेनजी आन्दोलन पछि नयाँ दल र युवाहरूको लहरले पुराना दललाई समस्या पर्छ भन्छन् नि ?
यो एउटा ‘वेभ’ जस्तो एउटा भाष्य र भ्रमका रूपमा सिर्जना गरिएको छ । तर जनताले बुझिसकेका छन् कि देश बनाउन इतिहास देखि राष्ट्र बुझेको र राष्ट्रका लागि काम गर्दै आएको शक्ति नै आवश्यक हुन्छ । पात्रहरू परिवर्तन हुनुपर्छ र त्यो परिवर्तन गरेर नेकपा एमालेले देखाएको छ । अहिले देश जलाउने र बनाउने बिचको प्रतिष्पर्धा पनि हो । जुम्लाको सन्दर्भमा राजाबादि र गणतन्त्रबादि बिचको लडाइ पनि भएकोले एमालेलाई जुम्ली जनताले रोज्ने बिश्वास लिएको छु ।
हामी नीति, नेतृत्व र नैतिकतामा सुधार गरेर नयाँ सोचका साथ अगाडि बढिरहेका छौँ । जनताले साथ सहयोग गरिरहनुभएको छ ।

तपाईँका मुख्य चुनावी एजेन्डा के के हुन ?
जुम्लाको भूगोल आफैमा एकदमै सम्भावना बोकेको क्षेत्र हो । मेरो पहिलो प्राथमिकता यहाँको पूर्वाधार विकास नै हो । दोस्रो, यो क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने मेरो योजना छ ।
आम जनताको आधारभूत आवश्यकता स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन ल्याउनु मेरो मुख्य एजेन्डा हो । यहाँका क्षेत्रीय समस्याहरूलाई समाधान गर्दै राष्ट्रिय नीति निर्माणमा यहाँको आवाज बुलन्द पार्नु मेरो दायित्व हुनेछ ।
अहिलेको निर्वाचनमा तपाईको प्रतिस्पर्धा को सँग हो ?
म विज्ञान र प्रविधिको युगमा विश्वास गर्छु । त्यसैले मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीको पात्र सँग होइन, यो क्षेत्रको पिछडिएको अवस्था र विकासका बाधकहरू सँग हो । जनताले पाउनुपर्ने सेवा सुविधा जसले रोक्ने चेष्टा गरिरहेका छन जो विकासको बाधक छन्, मेरो लडाइँ उनीहरू सँग मात्र हो ।
अब मतदाता सचेत र सक्षम हुनुपर्छ । यो निर्वाचनमा मतदाताले दिने मत राष्ट्रको समृद्धि र हाम्रा सन्ततिको भविष्यका लागि हो । यो मतलाई एउटा पवित्र दान सम्झिएर दान गर्नुहुनेछ ।






