जुम्ला । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (HPV) खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ। नेपाल सरकार को राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर अभियान सञ्चालन गर्न लागिएको हो।
हाल एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समेत समावेश गरिसकिएको छ। अभियान सफल बनाउन जिल्लाका आठवटै स्थानीय तहका ८४ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिने जनाइएको छ।
बुधबार जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा सरोकारवालासँग पूर्वतयारी तथा सूक्ष्म योजना सम्बन्धी छलफल गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए। उनका अनुसार चैत ९ गतेदेखि आठै पालिकामा रहेका ८४ केन्द्रमार्फत खोप अभियान सुरु गरिनेछ।
अभियानअन्तर्गत जुम्लाका आठ स्थानीय तहमा गरी कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ। स्थानीय तहअनुसार चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ किशोरीलाई खोप प्रदान गरिनेछ।
गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिइएको थियो भने यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरीलाई मात्र लक्षित गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमालले बताए।
सरकारले एचपीभी खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको छ। पाठेघरको मुखको क्यान्सरबाट जोगाउन, बाल तथा किशोरी स्वास्थ्य सुदृढ बनाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप प्रभावकारी माध्यम मानिन्छ।
अभियानबाट कुनै पनि लक्षित समूह छुट्न नदिने र दोहोरिने समस्या नआउने गरी प्रभावकारी कार्यान्वयन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सन् १९७७ (वि.सं. २०३४) देखि नेपालमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।
कार्यक्रममा जिल्लाका आठै पालिकाका स्वास्थ्य शाखा प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। अभियान सफल बनाउन सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग सहयोगको अपिल समेत गरिएको छ।






