जुम्ला । चन्दननाथ नगरपालिकाले “नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७७” मार्फत नगर प्रहरीलाई व्यापक जिम्मेवारी तोके पनि व्यवहारमा भने उनीहरूको भूमिका अत्यन्त सीमित देखिएको छ ।
कार्यविधिअनुसार नगर प्रहरीलाई सार्वजनिक जग्गा अतिक्रमण हटाउने, अवैध निर्माण रोक्ने, बजार अनुगमन गर्ने, प्रदूषण नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने लगायतका महत्वपूर्ण अधिकार दिइएको छ । तर पछिल्लो समय नगर क्षेत्रमा देखिएको गतिविधिले ती जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन नभएको संकेत गरेको छ ।
स्थानीयस्तरमा नगर प्रहरीलाई मुख्यतः बजार सरसफाइ, जुगाड खोला सफा गर्ने, पार्किङ व्यवस्थापनमा सहयोग गर्ने तथा कहिलेकाहीँ विपद् व्यवस्थापनमा संलग्न हुने भूमिकामा मात्र देखिएको स्थानीयवासी बताउँछन् ।
नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण, मापदण्ड विपरीत निर्माण, अव्यवस्थित बजार सञ्चालन तथा प्रदूषण जस्ता समस्या देखिँदै आए पनि नगर प्रहरीको सक्रिय अनुगमन र कारबाही भने न्यून रहेको गुनासो छ ।
“नगरपालिकाले बनाएको कार्यविधि अनुसार काम भएको देखिँदैन । नगर प्रहरीको भूमिका हिजोआज सरसफाइमै सीमित भएको जस्तो लाग्छ,” एक स्थानीयले बताए ।
यस अवस्थाले नगरपालिकाको नीति र कार्यान्वयन बीच अन्तर देखिएको विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार नगर प्रहरीलाई कानुन कार्यान्वयनको प्रमुख संयन्त्रका रूपमा परिचालन गरिनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन सकेको छैन ।
यस विषयमा नगरपालिकाका जनप्रतिनिधि तथा प्रशासनिक निकायको धारणा सार्वजनिक हुन सकेको छैन ।
स्थानीयवासीहरूले भने नगर प्रहरीलाई कार्यविधि अनुसार पूर्ण रूपमा परिचालन गर्न, अतिक्रमण र अवैध निर्माण नियन्त्रणमा कडाइ गर्न, बजार अनुगमन नियमित बनाउन तथा कार्यसम्पादन पारदर्शी बनाउन माग गरेका छन् ।
नगर प्रहरीको प्रभावकारी परिचालन नहुँदा स्थानीय शासनको विश्वसनीयता र सेवा प्रवाहमा समेत असर पर्ने सरोकारवालाहरूको भनाइ छ ।
यस सन्दर्भमा चन्दननाथ नगरपालिकाले आफ्नो नीति तथा कार्यविधिलाई व्यवहारमा उतार्दै नगर प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न उठ्न थालेको छ ।

कार्यबिधिमा अधिकार र कर्तव्य यस्तो रहेको छ ।






