जुम्ला । हिमा गाउँपालिकामा दुई दिन सम्म सञ्चालन गरिएको पाठेघर क्यान्सर स्क्रिनिङ शिविर बाट १७१ जना महिलाको पाठेघर परीक्षण गरिएको छ, जसले ग्रामीण स्वास्थ्य सेवामा पहुँच विस्तारको सकारात्मक संकेत दिएको छ ।

हिमा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, पेस नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको संयुक्त पहलमा सञ्चालन गरिएको शिविरले गाउँमै विशेषज्ञ सेवा पुर्याएको हो ।
स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता झेल्दै आएका महिलाहरूका लागि यो शिविर राहत बनेको सहभागीहरूले बताएका छन्।
स्थानीय पम्फा रोकायाले गाउँमै जाँच सेवा उपलब्ध भएपछि महिलाहरूलाई ठूलो सहजता भएको बताइन् ।
पहिले रोग भए/नभएको थाहा पाउन टाढा जानुपर्थ्यो, धेरैले लुकाउने गर्थे । अहिले गाउँमै सेवा पाउँदा ढुक्क भएको उनले भनिन् । पालिका भित्रका सातै वडाका महिलालाई समेट्ने गरी बड्की स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र तलिकुडुमा छुट्टाछुट्टै शिविर सञ्चालन गरिएको थियो। बड्कीमा ९४ र तलिकुडुमा ७७ जना महिलाको परीक्षण गरिएको हो ।
स्क्रिनिङका क्रममा दुई जनामा जटिल समस्या देखिएको र उनीहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको सिनियर अहेव शुक्रराज शाहीले जानकारी दिए। अन्य अधिकांशको अवस्था सामान्य रहेको उनले बताए।
शिविरमा परीक्षणसँगै औषधि वितरण र स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो । नेपालमा प्रत्येक वर्ष २ हजारदेखि २५ सयसम्म पाठेघरको मुखको क्यान्सरका नयाँ बिरामी भेटिने र करिब १३ सयदेखि १५ सय महिलाको मृत्यु हुने तथ्यलाई मध्यनजर गर्दै दुर्गम क्षेत्रका महिलालाई लक्षित गरी यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै सबै नागरिकसम्म सेवा पुर्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार पालिकाले हालसम्म विशेषज्ञ चिकित्सकसहित १२ वटा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।





