जुम्ला । विपद्का बेला स्वास्थ्य क्षेत्रमा देखिने जोखिमलाई न्यूनिकरण गर्ने लक्ष्यसहित जुम्लामा ठुलो स्तरको स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य सिमुलेशन अभ्यास हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजनामा बिहीबार नेपाली सेनाको खेल मैदान टुडिखेलमा आपतकालीन स्वास्थ्य सेवा, द्रुत प्रतिकार्य टोली परिचालन र चिकित्सकीय अभ्यासको लाइभ डेमो प्रस्तुत गरिने भएको हो ।
विपद् आउँदा स्वास्थ्य क्षेत्रमा तत्काल देखिने चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित यो अभ्यासले स्थानीय स्तरमै तयारीको अवस्था जाँच्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार सिमुलेशनमा आपतकालीन उद्धार, घाइते व्यवस्थापन, प्राथमिक उपचार तथा समन्वय प्रक्रियाको अभ्यास गरिनेछ ।
पूर्वतयारी कार्यक्रममा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले विपद् न्यूनीकरणमा केवल गैरसरकारी संस्थामाथि निर्भर नहुने स्पष्ट पार्दै जनप्रतिनिधिहरूले पनि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
उनले आगामी वर्ष रेडक्रससँग सहकार्य गर्दै आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले यस्ता अभ्यासले नागरिकमा सचेतना र ज्ञान बढाउने विश्वास व्यक्त गरे। उनका अनुसार विपद्का बेला के गर्ने भन्ने सीप नागरिकमै हुनु पर्ने बताए ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र महतले भोलिको सिमुलेशन सफल बनाउन आवश्यक सामग्री व्यवस्थापनमा कुनै कमी नहुने दाबी गरे ।
उता, रेडक्रसकी सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले जनताको सेवामा समर्पित भएर काम गरिरहेको बताउँदै यस्तो अभ्यासले समुदायलाई थप सशक्त बनाउने उल्लेख गरिन् ।
का.वा. सभापति जगदीश चौलागाईंले विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै विपद् व्यवस्थापनमा सबैको साथ आवश्यक रहेको बताए।
भोलि हुने सिमुलेशनका लागि जिम्मेवारी बाँडफाँटसमेत टुंग्याइ सकिएको छ। सामाजिक परिचालनकर्ता करबिर बहादुर चन्दका अनुसार व्यवस्थापनमा कुनै कमजोरी नआओस् भन्ने लक्ष्यसहित तयारीलाई अन्तिम रूप दिइएको छ।
जुम्लामा हुन लागेको यो अभ्यासलाई विपद् तयारीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले आकस्मिक अवस्थामा जीवन बचाउने क्षमता अझ मजबुत बनाउने विश्वास गरिएको छ।





