जुम्ला । चन्दननाथ नगरपालिका–९ उम्गाड देखि सिँजा गाउँपालिकाको सनिगाउँ जोड्ने सडक आयोजनामा गम्भीर लापरवाही भएको देखिएको छ । निर्माण सम्पन्न नहुँदै सडकका पर्खाल भत्किन थालेका छन् ।

चन्दननाथ नगरपालिका–८ अन्तर्गत झुम्खोला नजिक निर्माण गरिएका पर्खाल केही समयमै चर्किने र भत्किने अवस्थामा पुगे पछि स्थानीयले निर्माण कम्पनी माथि गुणस्तरहीन काम गरेको आरोप लगाएका हुन् ।
स्थानीयका अनुसार पर्खाल निर्माणमा मापदण्ड विपरीत अत्यधिक ढुङ्गा प्रयोग गरिएको छ भने सिमेन्टको मात्रा न्यून राखिएको कारण संरचना कमजोर बनेकाले भत्किन थालेका बताएका छन् ।
स्थानीय दिपसन गिरीले निर्माणस्थलमै गुणस्तर माथि खेलबाड गरिएको आरोप लगाए । पर्खाल हेर्दा नै कमजोर देखिन्छ । सिमेन्ट भन्दा ढुङ्गा धेरै हालिएको छ । निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि करोडौ बजेट खेर जाने सङ्केत देखिएको उनकाे भनाइ छ ।
स्थानीय गिरीका अनुसार निर्माण कम्पनीले काम छिटो सक्ने नाममा गुणस्तरमा चरम लापरवाही गरेको छ । सडक निर्माणमा प्रयोग हुने सामग्रीको परीक्षण नगरी जथाभावी प्रयोग गरिएको तथा प्राविधिक अनुगमन समेत प्रभावकारी नभएको आरोप छ ।
६५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त बहुवर्षीय सडक आयोजना जुम्लाको महत्वपूर्ण विकास योजना मध्ये एक मानिन्छ ।
उम्गाड देखि सिँजा सम्म सडक पहुँच विस्तार गर्ने लक्ष्य सहित सुरु गरिएको आयोजना अहिले भने गुणस्तर विवादमा तानिन थालेकाे । सडकको पर्खाल नै निर्माण अवधिमै भत्किन थालेपछि आगामी वर्षातमा सडक नै जोखिममा पर्ने चिन्ता रहेकाे स्थानीय गिरिकाे भनाइ छ ।
स्थानीयवासीले राज्यको बजेट दुरुपयोग गरेर कमजोर संरचना निर्माण गर्ने प्रवृत्तिले विकास प्रति नागरिकको विश्वास घट्दै गएको बताएका छन् ।
जनताको करबाट आएको बजेट यसरी बालुवामा पानी हाले जस्तो भइरहेको अर्का स्थानीय बिस्न धरालाकाे गुनासो रहेकाे छ ।
निर्माणस्थलमा कतिपय पर्खालमा सिमेन्टको पकड नै कमजोर देखिएको छ भने केही स्थानमा ढुङ्गा बाहिर निस्किन थालेकाे उनकाे गुनासाे छ । स्थानीयले यस्ता संरचनाले दीर्घकालीन सुरक्षा दिन नसक्ने भन्दै तत्काल प्राविधिक परीक्षण र छानबिनको माग गरेका छन् ।
याे बहुवर्षीय आयाेजनाकाे ठेक्का कालीका बिदान्सी जे.बि चितवनले लिएकाे छ । यसकाे साइट ठेकेदार बिबेक तामाङ लाई यसकाे गुणस्तरका बिषयमा बुझ्न खाेज्दा फाेन नउठाइ पछि फाेन स्वइचअफ गरेका छन् ।
सम्बन्धित ठेकेदार नै यसरी फाेन नउठाइ अप गरेर बस्ने हाे भने सडककाे गुणस्तर कस्ताे हाेला भन्ने प्रश्न उठ्न थालेकाे छ ।
हामीले रिपोर्टिङका क्रममा निर्माणको जिम्मा लिएको कम्पनी र प्राविधिक पक्षबाट हालसम्म कुनै स्पष्ट प्रतिक्रिया पाउन सकिरहेका छैनाै ।
स्थानीयले सडक आयोजनामा भएको अनियमितता छानबिन गर्न, गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न तथा पुनः मापदण्ड अनुसार निर्माण गर्न माग गरेका छन् ।
विकासका नाममा करोडौ बजेट खर्च हुने तर काम भने केही महिनामै भत्किने अवस्थाले जुम्लामा निर्माण व्यवसायी, प्राविधिक र सरोकारवाला निकाय माथि गम्भीर प्रश्न उठाएको छ ।





