जुम्ला । तिला गाउँपालिकाले “हामी सबैको बाल अभियानमा आबद्धता, बालमैत्री सुशासन तिला गाउँपालिकाको प्रतिबद्धता” भन्ने नारा सहित बाल कचहरी तिला प्रतिबद्धता पत्र २०८३ जारी गरेको छ।

गाउँपालिकाको समन्वय, किर्डाक नेपाल र वर्ल्ड भिजन इन्टरनेष्नल नेपालको सहजीकरण तथा आर्थिक सहयोगमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको अध्यक्षतामा उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पालिकाका १ देखि ९ वटै वडाका बालबालिका, जनप्रतिनिधिहरूकाे सहभागिता रहेको थियो । प्रतिबद्धता पत्रमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा बालबालिकाका सवाललाई विशेष प्राथामिकता दिने उल्लेख गरिएको छ ।
विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालय सम्म पुर्याउने, अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने, लागूऔषध दुर्व्यसन बाट जोगाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय समेटिएका छन् ।
यस्तै, सामाजिक कुरीति न्यूनीकरणका लागि नीति तथा बजेट मार्फत अभियान सञ्चालन गर्ने, सबै सामुदायिक विद्यालयमा छात्रा मैत्री शौचालय र पानीको व्यवस्था सुनिश्चित गर्ने तथा बालबालिकाको सहभागितालाई नीति निर्माण देखि योजना तर्जुमा प्रक्रिया सम्म जोड्ने प्रतिबद्धता जनाइएको छ ।
प्रतिबद्धता पत्रमा अनाथ, विपन्न र जेहेन्दार बालबालिकाको पहिचान गरी राहत तथा सहयोग प्रदान गरिने उल्लेख छ । बालबालिकाको क्षमता विकासमा लगानी बढाउने र मानसिक तथा मनोसामाजिक समस्याको व्यवस्थापनमा समेत ध्यान दिने कुरा समावेश गरिएको छ ।
कार्यक्रममा सहभागी बालिका सुस्मा हमालले आफ्नाे अनुभव सुनाउँदै बालबालिकाकाे क्षेत्रमा बजेटकाे व्यवस्थापन गर्न अनुराेध गरिन् ।
उनले भनिन्, हामीलाई कार्यक्रममा बोलाइन्छ, तर निर्णय गर्ने ठाउँमा हाम्रो आवाज कम सुनिने भएको हुदा बालबालिका नीति र कानुन बनाउने ठाउँ सम्म पुग्न नसकेकाे बताइन् । अब कागजमा मात्रै होइन, व्यवहारमै बालमैत्री वातावरण चाहिने बालिका हमालकाे भनाइ छ ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बालमैत्री स्थानीय शासन स्थापनाका लागि पालिका गम्भीर रहेको बताए । उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितालाई केन्द्रमा राखेर योजना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।
बालबालिका सुरक्षित भए मात्रै समाज सुरक्षित हुने अध्यक्ष राेकायाकाे भनाइ छ । अध्यक्ष राेकायाका अनुसार, तिलालाई साँच्चिकै बालमैत्री गाउँपालिका बनाउने हाम्रो लक्ष्य रहेकाे बताए ।
तिलाले बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गर्दै आएकाे अवगत गराउदै आगामी दिनमा पनि पयाप्त बजेट विनियोजन गर्ने अध्यक्ष राेकायाकाे प्रतिबद्धता रहेकाे छ ।
वल्ड भिजन ईन्टरनेष्नलकाे जिल्ला प्रतिनिधि भेष बहादुर रावलले बालबालिकाको आवाज सुन्ने संस्कार विकास नभएसम्म बालमैत्री शासनको लक्ष्य अधुरो रहने बताए ।
तिलामा जारी गरिएको यो प्रतिबद्धता पत्रले बालबालिकाको अधिकार र भविष्यप्रति आशाको नयाँ सन्देश दिएकाे रावलकाे भनाइ छ ।





