नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यकर्ता तथा समर्थकहरूलाई पार्टी नछाड्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले एमालेभित्र देखिएको निराशा र कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै पार्टी पुनर्गठन र पुनर्जागरणको प्रक्रियामा रहेको बताएका हुन्।

रिजालले लेखेका छन्, “हाम्रो जिल्ला र गाउँघरतिर पनि साथीहरूले पार्टी छाडिरहनुभएको छ। पार्टी नछाड्नुस्, एमालेमा पुनर्गठन र पुनर्जागरण हुन्छ।”
उनले उक्त भनाइसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित ‘अपानि–२’ दस्तावेजको अंशसमेत सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको अंशमा हालको राजनीतिक अवस्थाबारे समीक्षा गर्दै निर्वाचनमा व्यहोर्नुपरेको पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गरिएको छ।
दस्तावेजमा भनिएको छ, “निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यस्तो परिस्थितिमा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको सञ्चार गर्नु आवश्यक छ। समीक्षा प्रक्रियामा रहेकाले केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइनेछ।”
पछिल्लो निर्वाचन परिणामपछि एमालेभित्र बढ्दो निराशा र कार्यकर्ता पलायनबारे नेतृत्व तहबाटै चिन्ता व्यक्त भइरहेका बेला रिजालको यो सार्वजनिक आग्रहलाई अर्थपूर्ण रूपमा हेरिएको छ।





