जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–४ थामबाडा गाउँमा भालुको आक्रमण बाट आठ वटा भेडा मरेका छन् । स्थानीय कृषक नरेन्द्र अधिकारीका भेडा सोमबार बिहान करिब ४ बजे तिर भालुले मारेको हो ।

रातिको समयमा गोठमा हुलेका अवस्थामा रहेको भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार घटनापछि पाँच वटा भेडा अझै बेपत्ता छन् भने एक भेडा गम्भीर घाइते अवस्थामा रहेको छ।
भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बेपत्ता भेडाको खोजी कार्य जारी रहेको छ ।
प्रति भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने भएकाले आठ वटा भेडा मर्दा किसान अधिकारीलाई एक लाख ४४ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
भेडापालनलाई मुख्य रोजीरोटीको आधार बनाएका अधिकारीले एकैपटक ठूलो क्षति व्यहोर्नुपरेको बताए । जुम्लाका किसानका लागि भेडा पालन परिवारको आयस्रोत, भविष्यको भरोसा र जीवन धान्ने आधार हुन् ।
भेडापालनबाटै घरखर्च चलाउँदै आएका अधिकारीले एकै रातमा आफ्नो मुख्य आम्दानीको स्रोत गुमाउनुपरेको बताए ।





