जुम्ला । जिल्लामा पछिल्लो समय बालविवाह, लागू पदार्थ दुव्र्यसन तथा साइबर अपराधका घटनाले विस्तारै जरा गाड्न थाले पछि तिनको नियन्त्रण र न्यूनीकरणका लागि तातोपानी गाउँपालिका–४ मा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

तातोपानी गाउँपालिका–४ को आयोजनामा तथा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बाल विवाह, लागू पदार्थको दुव्र्यसन र साइबर अपराध समाजका लागि गम्भीर चुनौतीका रूपमा बिद्यार्थी लाई सचेतीकरण गरिएको छ । कानुनले निषेध गरेका यस्ता कार्यमा संलग्न हुने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने, सानाे उमेरमा विवाह नगर्ने, कुलतमा नफस्ने भन्दै बिद्यार्थी लाई जानकारी गराइएका छ ।
वडा अध्यक्ष अमर बहादुर राेकायाले समाजमा देखिन थालेका विकृति र विसंगतिले युवा पुस्ताको भविष्य नै जोखिममा पारेको उल्लेख गर्दै अभिभावक, शिक्षक र स्थानीय समुदायले समयमै सचेत भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा प्रत्यक्ष असर पार्ने भएकाले यसको अन्त्यका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे । बिद्यालय उमेर बाटै कुलतका घटना बढी हुने भएकाे हुदा बालबालिका प्रति वडाकाे लगानी रहेकाे बताए ।
वडा अध्यक्ष राेकायाका अनुसार, वडाका कसैले लागू पदार्थ सेवन गर्याे भने, बाल विवाह र साइबर अपराध जस्ता कार्य गरेमा वडा कार्यालयमा सम्पर्क गर्ने उनले अनुराेध गरेका छन् ।
प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लागू पदार्थको प्रयोगले युवाहरूलाई अपराध तर्फ धकेल्ने तथा समाजमा असुरक्षा बढाउने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, चरित्र हत्या, साइबर बुलिङ् लगायतका साइबर अपराध दिन प्रति दिन बढ्दै गएको भन्दै विद्यार्थीहरूलाई डिजिटल माध्यमको सुरक्षित र जिम्मेवार प्रयोग गर्न आग्रह गरे।
साइबर अपराधमा संलग्न व्यक्तिलाई विद्यमान कानुन अनुसार कडा सजाय हुने जानकारी पनि उनले दिए । उनले भने, पछिल्लो समय जुम्ला पनि लागू पदार्थ सेवन गर्नेकाे संङ्ख्या पनि उल्लेख्य मात्र रहेकाे बताए । यस्ताे कार्य राेक्न जिल्ला प्रहरी कार्यालय अपरेसनका साथ लागि परेकाे बताए ।
त्यस्तै कानुन व्यवसायी मिन बहादुर महतले बालविवाह, लागू पदार्थ कारोबार तथा साइबर अपराध सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी गराउँदै कानुनको अज्ञानताले कसैलाई उन्मुक्ति नदिने स्पष्ट पारे ।
उनले कानुन विपरीतका गतिविधिले व्यक्तिको भविष्य मात्र होइन, परिवार र समाजलाई समेत दीर्घकालीन क्षति पुर्याउने बताए । त्यसैले यस्ता खालका गतिविधिमा विद्यार्थी काेही पनि नफस्न उनले सुझाव दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता विषयमा प्राप्त जानकारी आफ्नो व्यवहारमा लागू गर्ने तथा समाजमा समेत सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय तहले बढ्दो सामाजिक विकृतिविरुद्ध विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गर्नु सकारात्मक र आवश्यक कदम भएको सहभागीहरूको भनाइ थियो।





