जुम्ला । शुक्रबार वर्तमान सरकारको कार्यशैली प्रति तीव्र असन्तुष्टि जनाउँदै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जुम्लामा शुक्रबार साँझ राँकेजुलुस प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सरकार विरुद्ध चर्का नाराबाजी गर्दै सडकमा उत्रिएका हुन् ।

अनेरास्ववियुका जिल्ला सहसंयाेजक बिन बहादुर रावतकाे नेतृत्वमा निकालिएको जुलुसमा सहभागी विद्यार्थी तथा युवाहरूले देशको राष्ट्रिय स्वाभिमान, सीमा सम्बन्धी विषय र सरकारको भूमिका माथि गम्भीर प्रश्न उठाएका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले वर्तमान नेतृत्व राष्ट्रिय हितको सवालमा कमजोर बनेको आरोप लगाउँदै तत्काल स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
अनेरास्ववियु जुम्लाका जिल्ला सहसंयोजक बिनबहादुर रावतका अनुसार संसदमा व्यक्त गरिएको विवादास्पद अभिव्यक्ति पछि देशभर जनआक्रोश बढिरहेको अवस्थामा जुम्लामा पनि त्यसको समर्थनमा र सरकारको विरोधमा राँकेजुलुस आयोजना गरिएको बताए ।
उनले राष्ट्रिय हित सँग जोडिएका विषयमा सरकार गम्भीर बन्न नसकेको भन्दै विद्यार्थी समुदाय सडक आन्दोलनमा उत्रिन बाध्य भएको दाबी गरे । आगामी दिनमा पनि सरकार नसच्चिय क्रमबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रदर्शनकारीहरूले सरकारको मौनता र गैरजिम्मेवार व्यवहारका कारण जनस्तरमा असन्तुष्टि बढ्दै गएको आरोप लगाए । उनीहरूले राष्ट्रिय स्वाभिमान माथि आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।
जिल्ला बहुमुखी क्याम्पस जुम्लाका स्ववियु सभापति लोकेन्द्र बुढाले विद्यार्थी समुदाय देशको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र जनभावना सँग जोडिएका विषयमा सधै सचेत रहेको बताउँदै आवश्यक परे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए । उनले सरकार जनभावना प्रति संवेदनशील नबने थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संकेत पनि गरे ।
उनले भने, याे सानाे राँके जुलुस एक आगाेकाे झिल्काे हाे तपाई लाई थाहाँ हाेला सानाे आगाकाे झिल्का पछि कति खतरनाक हुन्छ भनेर ।
राँके जुलुसका कारण केही समय सदरमुकाम क्षेत्रको वातावरण तनावपूर्ण बनेको भए पनि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ । आन्दोलनकारीहरूले आगामी दिनमा पनि दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।





