जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा आअत्धुनिक प्रशासनिक भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिक मैत्री बनाउने उद्देश्यका साथ निर्माण हुन लागेको उक्त भवनले स्थानीय तहको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

हिमा गाउँपालिकाको कुल ८ करोड ९८ लाख रुपैयाँ लागत अनुमानमा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि निर्माण व्यवसायी सँग भ्याट सहित ६ करोड २१ लाख रुपैयाँमा सम्झौता गरिएको छ। भवन निर्माण कार्य सुरु भए सँगै स्थानीयवासीमा उत्साह थपिएको छ भने गाउँपालिकाले विकासको नयाँ अध्याय प्रारम्भ गरेको अनुभूति गराएको छ ।
गाउँपालिकाका इन्जिनियर तोरण खड्काका अनुसार भवन निर्माण कार्य निर्धारित मापदण्ड र गुणस्तरका आधारमा अघि बढाइएको बताए । उनले निर्माण कम्पनी सँग भएको सम्झौता अनुसार २०८४ असार मसान्तकाे अन्तिम भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । समयमै काम सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको उनको भनाइ छ ।
निर्माण हुन लागेको प्रशासनिक भवन चार तले हुनेछ। भवनभित्र गाउँपालिकाका सबै शाखा तथा सेवा केन्द्रहरू व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। हाल विभिन्न स्थानमा छरिएर रहेका कार्यालयहरू एउटै भवनमा सञ्चालन भएपछि सेवाग्राहीले सहज र छिटो सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।
आधुनिक संरचनासहित निर्माण हुने भवनमा कर्मचारीका लागि आवश्यक कार्यकक्ष, बैठक हल, अभिलेख व्यवस्थापन कक्ष तथा अन्य प्रशासनिक सुविधा समेटिने जनाइएको छ।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले प्रशासनिक भवन निर्माण कार्य सुरु हुनु गाउँपालिकाको दीर्घकालीन विकास यात्रामा एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले स्थानीय सरकारलाई थप सबल, व्यवस्थित र जनउत्तरदायी बनाउन भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उल्लेख गरे ।
अध्यक्ष शाहीले भने, स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । नागरिकलाई सहज, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न व्यवस्थित प्रशासनिक भवनको आवश्यकता महसुस गरिएको थियो । अब निर्माण कार्य सुरु भएसँगै त्यो सपना साकार हुने दिशामा अघि बढेको छ।
उनले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न गाउँपालिकाले निरन्तर अनुगमन गर्ने पनि बताए । साथै विकास निर्माणका काममा स्थानीय समुदायको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।
स्थानीयवासीहरूले पनि प्रशासनिक भवन निर्माणलाई गाउँपालिकाको ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् । भवन निर्माण पछि सेवा लिनका लागि भोग्नु परेका विभिन्न समस्या समाधान हुने र सरकारी सेवा प्रवाह थप प्रभावकारी बन्ने उनीहरूको अपेक्षा छ । यसले गाउँपालिकाको प्रशासनिक क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहप्रतिको जनविश्वास समेत मजबुत बनाउने विश्वास गरिएको छ ।
हिमा गाउँपालिकामा निर्माण हुन लागेको यो आत्याधुनिक प्रशासनिक भवन केवल एउटा भौतिक संरचना मात्र नभई सुशासन, पारदर्शिता, सेवा प्रवाह र समग्र विकासको आधारस्तम्भका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ
निर्माण कार्य सम्पन्न भएपछि गाउँपालिकाले आफ्ना प्रशासनिक गतिविधिलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न नयाँ ऊर्जा प्राप्त गर्ने अध्यक्ष शाहीले बताए ।





