जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा १ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। गुठिचौर गाउँपालिका–३ गज्याङकोट स्थित घट्टेखोलाको सिमचौर क्षेत्रमा प्रस्तावित आयोजनाका लागि वातावरणीय अध्ययन तथा प्राविधिक अनुसन्धान कार्य सुरु भएकाे छ । २५ करेाडकाे लागतमा निर्माण हुन लागेकाे साैर्य बिद्युतले गुठिचाैर मात्र नभइ समग्र जुम्ला जिल्ला लाई नै उज्यालोमय बनाउने अपेक्षा गरिएकाे छ ।

आयोजनाको प्रारम्भिक चरणअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकन, भू–प्राविधिक अध्ययन, माटो परीक्षण तथा अन्य आवश्यक तथ्य संकलनको काम भइरहेको छ ।
वातावरण विज्ञ आशिष ढकालको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले आयोजना स्थल पुगेर स्थलगत अध्ययन सुरु गरेको हाे । अध्ययन टोलीले आयोजनाले स्थानीय वातावरण, जैविक विविधता, जलस्रोत तथा समुदायमा पार्न सक्ने सम्भावित प्रभावको विस्तृत विश्लेषण गरेकाे छ।
यसैबीच नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्र चौधरी सहितको प्राविधिक टोलीले पनि आयोजनास्थलको निरीक्षण गरी सम्भाव्यता तथा प्राविधिक पक्षहरूको मूल्यांकन गरेको छ । प्रारम्भिक अध्ययनले उक्त क्षेत्र सौर्य ऊर्जा उत्पादनका लागि उपयुक्त देखिएको जनाइएको छ।
गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार आयोजना निर्माणअघि आवश्यक सम्पूर्ण वातावरणीय तथा प्राविधिक अध्ययन सम्पन्न गर्न करिब छ महिना लाग्ने अनुमान गरिएको बताए । अध्ययन प्रतिवेदन तयार भएपछि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी निर्माणका लागि टेन्डर आह्वान गरिने उनकाे भनाइ छ ।
अध्यक्ष बुढाले लामो समय देखिको पहल, समन्वय र निरन्तर प्रयास पछि आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए । उनका अनुसार यो आयोजना केवल विद्युत उत्पादनको माध्यम मात्र नभई जुम्लाको आर्थिक तथा सामाजिक रूपान्तरणको आधार बन्ने अपेक्षा गरिएको बताए ।
भविष्यमा उद्योग, कलकारखाना, कृषि प्रशोधन केन्द्र तथा कोल्ड स्टोरजस्ता उत्पादनमूलक संरचना विस्तार गर्न पर्याप्त र भरपर्दो विद्युत आवश्यक हुने उनकाे भनाइ छ ।
गुठिचाैर ३ का वडा अध्यक्ष ईन्द्र बुढाका अनुसार आयोजनाले गुठिचौर गाउँपालिका मात्र नभई समग्र जुम्ला जिल्लाको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने बताए । हाल विद्युत अभावका कारण सीमित रहेको औद्योगिक तथा व्यावसायिक गतिविधिलाई यसले नयाँ गति दिने विश्वास गरिएको जानकारी दिए।
उनले भने, मनाङ–मुस्ताङ राजमार्ग सँग जोडिएको रणनीतिक क्षेत्रमा आयोजना निर्माण हुन लागेकाले ऊर्जा उत्पादन सँगै पूर्वाधार विकास, निजी लगानी आकर्षण तथा रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमै स्वच्छ तथा दिगो ऊर्जा उत्पादन गर्ने उद्देश्यसहित अघि बढाइएको यो परियोजना सफल भएमा कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाको नमुना आयोजनाका रूपमा स्थापित हुन सक्ने सरोकारवालाहरूको विश्वास वडा अध्यक्ष बुढाकाे भनाइ छ ।





