जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको पहिलो जिल्ला अधिवेशनले जिल्लाको राजनीतिक माहोल नै तरंगित बनाएको छ। अधिवेशनबाट मक्कर बहादुर भण्डारी पुनः जिल्ला सभापतिमा चयन भए सँगै रास्वपाले जुम्लामा आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गरिरहेको सन्देश दिएको छ।

एक समय जुम्लामा रास्वपाको नाम लिँदा उपहास र आलोचना खेप्नुपरेको स्मरण गर्दै सभापति भण्डारीले अहिलेको अवस्था पूर्ण रूपमा बदलिएको दाबी गरेका छन् ।
उनले भने, जब हामीले जुम्लामा रास्वपाको यात्रा सुरु गरेका थियौ, धेरैले हाँसोको विषय बनाएका थिए। तर आजको यो जनलहरले पुराना राजनीतिक शक्तिहरूलाई स्पष्ट सन्देश दिएको छ। अब जुम्लाको राजनीति नयाँ दिशा तर्फ अघि बढिसकेको बताए ।
अधिवेशनमा देखिएको जनसहभागिता र उत्साहलाई रास्वपाले आफ्नो बढ्दो जनविश्वासको प्रमाणका रूपमा व्याख्या गरेको छ । भण्डारीले जुम्लामा परिवर्तनको चाहना तीव्र बनेको र त्यसको केन्द्रमा रास्वपा रहेको दाबी गर्दै आगामी दिनमा पार्टीलाई गाउँ–गाउँ सम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनको अर्को महत्वपूर्ण पक्ष भनेको अन्य दलका नेता तथा कार्यकर्ताको रास्वपामा बढ्दो आकर्षण रहेकाे छ । नेपाली कांग्रेस परित्याग गरेका गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले पुराना दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता महसुस भएको बताए । उनले देश र समाजको हितका लागि अब नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखे ।
त्यसैगरी, गुठिचौर गाउँपालिका–४ का निवर्तमान वडाध्यक्ष जग्गी प्रसाद जैशीको नेतृत्वमा गुठिचौर–१, २, ३ र ४ का ३० जना विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् । यो घटनालाई स्थानीय राजनीतिमा ठूलो धक्का र शक्ति सन्तुलन परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
रास्वपाका नेताहरूले जुम्लामा देखिएको यो उत्साह केवल सुरुवात मात्र भएको दाबी गरेका छन् । उनीहरूका अनुसार पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले रास्वपालाई बलियो बनाइरहेको छ ।
जिल्ला अधिवेशनले जुम्लामा रास्वपाको संगठनात्मक आधार अझ मजबुत बनाएको र आगामी निर्वाचनहरूमा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्ने आधार तयार गरेको नेताहरूको भनाइ छ।





