चितवन ।“सद्भावपूर्ण समाज निर्माणमा मेरो योगदान, सकारात्मक तरङ्ग सिर्जना गर्न सकारात्मक अभियान” भन्ने मूल नारा सहित नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल (Nepal Appreciative Inquiry National Network–NAINN) को नवौँ राष्ट्रिय भेला चितवन जिल्लाको कालिका नगरपालिका–१० स्थित तिन दोभान चेपाङ समुदायको बस्तीमा भव्य रूपमा सम्पन्न भएको छ ।
भेलाले चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा, जीवनशैली र समुदाय भित्र रहेका सकारात्मक अभ्यास हरूको पहिचान तथा प्रवर्द्धन गर्दै उनीहरूको सामाजिक तथा आर्थिक समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गर्ने निर्णय गरेको छ । कार्यक्रमले समुदायका मौलिक मूल्य, सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई संरक्षण गर्दै विकासको मूलधार सँग जोड्ने रणनीतिमा विशेष जोड दिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय भेलामा देशका विभिन्न जिल्लाबाट सहभागी भएका प्रतिनिधिहरूले सकारात्मक सोच, सहकार्य, सामाजिक सद्भाव र समुदाय केन्द्रित विकासका विषयमा अनुभव आदान प्रदान गरेका थिए । भेलाले आगामी दिनमा देशव्यापी रूपमा “सकारात्मक सोच अभियान” विस्तार गर्ने स्थानीय तह सम्म सकारात्मक नेतृत्व विकास गर्ने तथा सामाजिक रूपान्तरणका लागि अभियानका सारथीहरूको सञ्जाल सुदृढ बनाउने कार्ययोजना समेत पारित गरेको छ ।
कार्यक्रमका सहभागीहरूले समाजमा विद्यमान नकारात्मक सोच, विभाजन र निराशाको वातावरणलाई सकारात्मक ऊर्जा, संवाद र सहकार्य मार्फत रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले प्रशंसनीय दृष्टिकोणको अवधारणालाई समुदाय विकास, शिक्षा, नेतृत्व निर्माण तथा सामाजिक एकताको प्रभावकारी माध्यमका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
भेलाबाट आगामी कार्यकालका लागि डा. रामबहादुर राउत पुनः राष्ट्रिय अध्यक्षमा चयन हुनु भएको छ । त्यसैगरी घनश्याम कोइराला वरिष्ठ उपाध्यक्ष तथा सुन्दर लामिछाने महासचिव पदमा चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई भेलाले सर्वसम्मत रूपमा जिम्मेवारी प्रदान गर्दै सञ्जाललाई थप प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष घनश्याम कोइरालाले सकारात्मक सोच र प्रशंसनीय दृष्टिकोणको अभियान लाई गाउँ–गाउँसम्म विस्तार गर्दै समाजमा आशा, सहकार्य र सद्भावको संस्कृति विकास गर्न आफ्नो नेतृत्व केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चेपाङ समुदायको बस्तीमा राष्ट्रिय भेला आयोजना गरिनु आफैँमा समावेशी विकास र समुदाय प्रति सम्मानको महत्वपूर्ण सन्देश भएको बताउनुभयो ।
भेलाको निष्कर्षस्वरूप सामाजिक सद्भाव, सकारात्मक सोच, समावेशी विकास र समुदायको आत्मविश्वास अभिवृद्धिका लागि NAINN ले आगामी दिनमा देशव्यापी अभियानलाई थप सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।
“सकारात्मक सोचबाट सकारात्मक समाज, सकारात्मक समाजबाट समृद्ध राष्ट्र” भन्ने सन्देश सहित सम्पन्न भएको नवौँ राष्ट्रिय भेला समुदायमा आशा आत्मविश्वास र सहकार्यको नयाँ ऊर्जा प्रवाह गर्न सफल भएको सहभागीहरूले बताएका छन ।
तस्बिरमा






