जुम्ला । नेपाली फुटबलको उदीयमान प्रतिभा तथा यू–२० राष्ट्रिय फुटबल टोलीका कप्तान धर्मेन्द्र कुँवरलाई उनको पूर्व विद्यालय जीएमडी मोडर्न पब्लिक हाई स्कुल प्रा.लि., जुम्लाले विशेष सम्मान तथा मायाको चिनो प्रदान गरेको छ ।
विद्यालयले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै देशको प्रतिनिधित्व गरिरहेका कुँवरलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालयका इन्चार्ज किरण मुक्तानले धर्मेन्द्र कुँवरको सफलता जुम्ला जिल्लाकै गौरवको विषय भएको बताउँदै कठिन परिश्रम, अनुशासन र दृढ संकल्पका कारण उनी आज राष्ट्रिय टोलीको नेतृत्व गर्न सफल भएको उल्लेख गरे । उनले कुँवर राष्ट्रका गहना, जुम्लावासीका गर्वका पात्र तथा विद्यालयका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको बताए ।
“धर्मेन्द्रले देखाएको लगनशीलता र समर्पणले आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ । आगामी दिनमा उहाँको नेतृत्वमा नेपाली फुटबलले अझ ठूलो सफलता हासिल गर्ने विश्वास गरेका छौँ,” मुक्तानले भने ।
त्यसै क्रममा विद्यार्थी सनिता कठायतले स्वागत मन्तव्य राख्दै ” लगनशीलता , धैर्यता र अनुशासनले आज उहाँको जुन उचाई बढेको छ त्यसबाट हामी र हाम्रो बिद्यालय परिवारले गर्बको महशुस गरिरहेका छौ ।
त्यस्तै बिद्यालय क्याप्टेन प्रशङ्सा कठायतले ” जब जब राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमैदानमा राष्ट्रिय झन्डा सङ्गै उहाँ लाई हामी टिभी, मोबाइलमा देख्छौ त्यतिबेला जिएमडी बोर्डिङ र हामी विद्यार्थी त्यही मैदानमा उभिएर व्हिटिङ्ग गरेको महशुस भैरहेको हुन्छ ” भन्नू भयो ।
सम्मान ग्रहण पछि कप्तान कुँवरले आफूलाई अध्ययन गराएको विद्यालयबाट सम्मानित हुन पाउँदा अत्यन्त भावुक र गौरवान्वित भएको प्रतिक्रिया दिए ।
“मैले जीवनका महत्वपूर्ण पाठ सिकेको यही विद्यालय बाट आज सम्मानित हुन पाउँदा शब्दमा व्यक्त गर्न नसकिने खुशी महसुस गरेको छु । यहाँका शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय परिवारले दिएको माया र विश्वास मेरा लागि अमूल्य सम्पत्ति हुन्,” उनले भने ।
उनले विद्यालयबाट प्राप्त शिक्षा, संस्कार र प्रेरणाले नै आफूलाई यहाँ सम्म पुग्न मद्दत गरेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय र समाजका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका क्रममा कुँवरले विद्यालयका विद्यार्थीहरू सँग केही समय फुटबल खेल्दै खेलकुद प्रति प्रेरित समेत गरेका थिए । उनले अनुशासन, निरन्तर अभ्यास र आत्मविश्वासका साथ अघि बढेमा जुनसुकै सपना पनि पूरा गर्न सकिने सन्देश दिएका थिए ।
विद्यालय परिवारले धर्मेन्द्र कुँवरको उज्ज्वल भविष्यको कामना गर्दै नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउन सफल होऊन् भन्ने शुभेच्छा व्यक्त गरेको छ ।
तस्बिरमा






