जुम्ला । शिक्षा र खेलकुदको क्षेत्रमा जिल्लाको गौरव बढाएका दुई प्रतिभाशाली व्यक्तित्वलाई जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सम्मान गरेको छ।

जिल्ला बाट माध्यमिक तहकाे उत्कृष्ट शिक्षकको रूपमा छनोट भई कर्णाली प्रदेश सरकार बाट उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गरेका ऋणमोक्ष माध्यमिक विद्यालय, डिल्लीचौरका शिक्षक हरि बहादुर बुढा तथा नेपाल यू–२० राष्ट्रिय फुटबल टोलीका कप्तान धर्मेन्द्र कुँवर लाई सम्मान गरिएको हो ।
क्याम्पस परिसरमा आयोजित कार्यक्रममा शिक्षा र खेलकुद मार्फत जिल्लाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल व्यक्तित्वहरूलाई सम्मान गर्दै स्ववियुले उनीहरूको योगदान प्रति उच्च सम्मान व्यक्त गरेको छ ।
जुम्ला बहुमुखी क्याम्पस जुम्ला स्ववियु सभापति लाेकेन्द्र बुढाले वर्षौ देखि दुर्गम क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका शिक्षक बुढा लाई सम्मान गरिएको बताए ।
सभापति बुढाका अनुसार, शिक्षा, खेलकुद, कला, साहित्य तथा अन्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले समाजका लागि उदाहरणीय कार्य गर्ने व्यक्तिहरूको कदर हुन आवश्यक रहेको बताउँदै यस्ता सम्मानले प्रतिभावान युवाहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले समाज रूपान्तरणको आधार शिक्षा र अनुशासन भएको उल्लेख गर्दै शिक्षक र खेलाडीले आफ्नो क्षेत्रबाट जिल्लाको पहिचान स्थापित गरेको बताए ।
उनले कठिन भौगोलिक अवस्था र सीमित अवसरका बीच पनि राष्ट्रिय तथा प्रदेशस्तरमा सफलता हासिल गर्नु गौरवको विषय भएको बताए। यस्ता व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तामा सकारात्मक ऊर्जा र प्रेरणा थप्ने उनको भनाइ छ ।
सम्मान ग्रहणपछि शिक्षक हरिबहादुर बुढाले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, कप्तान धर्मेन्द्र कुँवरले जिल्लावासीको माया, साथ र विश्वास नै आफ्नो सफलताको आधार भएको उल्लेख गर्दै आगामी दिनमा देश र जिल्लाको नाम अझ उँचो बनाउन मेहनत जारी राख्ने बताए ।





