जुम्ला । जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको आयोजनामा शुक्रबार जिल्ला स्तरीय विपद् सिकाइ अन्तरक्रिया तथा बहस कार्यक्रम सम्पन्न भएकाे छ । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका विषयमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख, सरकारी निकाय, विकास साझेदार संस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जुम्लाका दुर्गम बस्तीहरू अझै पनि बाढी, पहिरो, हिमपात र आगलागी जस्ता विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताए ।
उनले भने, विपद् आए पछि मात्रै सक्रिय हुने होइन, विपद् आउनु भन्दा अगाडि नै तयारी गर्नुपर्ने बताए।स्थानीय सरकारहरूले विपद् पूर्वतयारीलाई विकास योजना सँग जोडेर अगाडि बढ्ने बताए । जोखिममा रहेका बस्ती लाई सचेत र सक्षम बनाउन पालिकाले याे आर्थिक वर्षमा बजेटकाे व्यवस्थापन गरेकाे बताए ।
त्यस्तै तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले विपद् व्यवस्थापनमा सबै निकाय बीच समन्वय आवश्यक रहेको बताए । उनले भने, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस र समुदाय बीचको सहकार्य बलियो भएमा विपद्को प्रभाव कम गर्न सकिने जानकारी दिए ।
उनका अनुसार, विपद् व्यवस्थापन केवल सरकारको जिम्मेवारी मात्र होइन, यो साझा दायित्व हो । सबै पक्षको सहभागिताले मात्रै प्रभावकारी परिणाम दिन सक्ने बताए ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा पर्याप्त स्रोत र जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याए ।
उनका अनुसार, जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्थापन, राहत सामग्रीको पूर्व भण्डारण र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए । विपद् व्यवस्थापनका लागि स्थानीय तहलाई थप स्रोतसाधन उपलब्ध गराउन आवश्यक रहेकाे बताए। अहिले पालिकाले कुनै पनि नीति निर्माण नगरेकाे र आगामी आवमा सबै नीति नियम र बजेटकाे व्यवस्थापन गर्ने बताए ।
त्यसैगरी सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जलवायु परिवर्तनका कारण विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहहरू अझ सजग हुनुपर्ने बताए ।
उनका अनुसार, पहिले भन्दा अहिले प्राकृतिक विपद्का घटना बढेका छन् । बाढी, पहिरो र अनियमित वर्षाले जनधनको क्षति बढाएको छ। त्यसैले विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता रहेकाे बताए ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पाैडेले विपद् व्यवस्थापनमा सबै निकायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले भने, विपद् व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकाय र विकास साझेदार संस्थाबीचको समन्वय प्रभावकारी भएमा विपद्को समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सकिने बताए ।
उनका अनुसार जुम्ला जिल्लामा वर्षायाम सँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले सबै स्थानीय तह र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकी सुपर परियोजना अधिकृत इश्वरा सुवेदीले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमको महत्वबारे प्रकाश पारिन् ।
उनले भनिन्, विपद्को पहिलो सामना समुदायले नै गर्छ। त्यसैले समुदायलाई सक्षम, प्रशिक्षित र सचेत बनाउनु अत्यन्त आवश्यक छ। रेडक्रसले स्थानीय तहसँग सहकार्य गर्दै विपद् पूर्वतयारी, उद्धार क्षमता विकास तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
उनले विपद्को समयमा मानविय सहयोग, राहत वितरण तथा पुनःस्थापनामा समुदायको भूमिका महत्वपूर्ण हुने बताउँदै स्थानीय स्तरमै विपद् व्यवस्थापन संरचना बलियो बनाउनुपर्नेमा जोड दिइन्।
जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको आयोजनामा सम्पन्न कार्यक्रममा विपद् सम्बन्धी सिकाइ आदानप्रदान, अनुभव साझेदारी तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको थियो ।





