जुम्ला । चन्दननाथ नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको भन्दै नागरिकस्तरबाट सुरु गरिएको जुगाडखोला सरसफाइ अभियान निरन्तर ११ औँ हप्तामा प्रवेश गरेको छ। नगरको मुटु भएर बग्ने जुगाडखोला फोहोर, प्लास्टिकजन्य वस्तु र ढलमिश्रित प्रदूषणले थिलथिलो बन्दै गइरहेका बेला स्थानीय युवाहरू र अभियन्ताहरूले आफ्नो श्रमदानबाट खोला सफा गर्ने अभियानलाई निरन्तरता दिएका हुन्।
विगत ११ हप्तादेखि प्रत्येक हप्ता नियमित रूपमा सञ्चालन हुँदै आएको अभियानले नगरको सरसफाइप्रति स्थानीय सरकारको उदासीनता उजागर गरेको भन्दै नागरिकहरूले प्रश्न उठाउन थालेका छन्। करोडौँ रुपैयाँ बजेट खर्च गर्ने नगरपालिकाले सामान्य फोहोर व्यवस्थापनसमेत प्रभावकारी रूपमा गर्न नसकेको आरोप स्थानीयको छ।
जुगाडखोला सरसफाइ अभियानका संयोजक तथा अभियन्ता उपेन्द्र बढ्थापाले नगरलाई सफा र व्यवस्थित बनाउने जिम्मेवारी केवल सरकारको मात्र नभई नागरिकको पनि भएको बताए। तर उनले स्थानीय सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिकाले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए।
उनले भने, “हामीले नगरपालिकाको काम खोस्न खोजेका होइनौँ। तर नगरको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा चुप लागेर बस्न सकिएन। हाम्रो नगर हामीले नै बनाउने हो भन्ने सोचका साथ अभियान सुरु गरेका हौँ। यो अभियान आजै रोकिने वा भोलि सकिने होइन। नगर सफा नहुन्जेल र जनचेतना नबढुन्जेल हाम्रो अभियान जारी रहन्छ।”
अभियन्ताहरूका अनुसार जुगाडखोलामा दैनिक रूपमा प्लास्टिक, सिसाका बोतल, घरेलु फोहोर, निर्माण सामग्रीका अवशेष तथा अन्य फोहोर फालिने गरेको छ। यसले खोला प्रदूषित मात्र बनाएको छैन, वातावरणीय जोखिम समेत बढाएको छ। वर्षायाममा यस्ता फोहोरले पानीको बहाव अवरुद्ध भई बाढी र डुबानको जोखिम समेत निम्त्याउन सक्ने चेतावनी उनीहरूको छ।
स्थानीयवासीहरू भन्छन्, नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नीति, योजना र बजेटको चर्चा त धेरै गर्छ, तर परिणाम भने देखिँदैन। नगरका विभिन्न स्थानमा फोहोरका थुप्रा देखिनु, खोलानाला प्रदूषित हुनु र सरसफाइका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नहुनुले नगर सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा गरेको उनीहरूको भनाइ छ।
सरसफाइ अभियानमा सहभागी युवाहरूले पनि नगरपालिकालाई केवल बैठक, योजना र कागजी प्रतिवेदनमा सीमित नभई व्यवहारिक काममा देखिन आग्रह गरेका छन्। उनीहरूका अनुसार केही दर्जन युवाहरूले हप्तौँसम्म निःशुल्क श्रमदान गरेर खोला सफा गरिरहँदा नगरपालिकाको मौनता झन् चिन्ताजनक बनेको छ।
अभियानका सहभागीहरूले नगरबासीलाई पनि घरबाट निस्कने फोहोर जथाभावी खोलामा नफाल्न आग्रह गरेका छन्। सरसफाइ केवल एक दिनको कार्यक्रम नभई जीवनशैली बन्नुपर्ने उनीहरूको भनाइ छ। नागरिक सचेत नभएसम्म कुनै पनि सरकारी योजना सफल हुन नसक्ने भन्दै उनीहरूले सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
यता, जुगाडखोलाको अवस्था सुधार्न नागरिक आफैँ अग्रसर भइरहेका बेला चन्दननाथ नगरपालिकाले भने दीर्घकालीन फोहोर व्यवस्थापनको स्पष्ट योजना सार्वजनिक गर्न सकेको छैन। यसले स्थानीय सरकारप्रति नागरिकको असन्तुष्टि थप बढाएको छ।
११ हप्तादेखि निरन्तर चलिरहेको यो अभियानले एउटा स्पष्ट सन्देश दिएको छ— जब जिम्मेवार निकाय आफ्नो कर्तव्यबाट विमुख हुन्छ, तब नागरिक आफैँ मैदानमा उत्रिन्छन्। जुगाडखोला सफा गर्ने यो अभियान केवल फोहोर उठाउने काम मात्र होइन, नगर सरकारलाई आफ्नो दायित्व सम्झाउने नागरिक चेतनाको शक्तिशाली अभियान पनि बनेको छ।






