जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोटस्थित सामुदायिक वन क्षेत्रमा जंगली भालुले आक्रमण गर्दा दुई वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा अझै बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर राफै सामुदायिक वन क्षेत्रमा रहेको बाख्रा गोठमा भालुले आक्रमण गरेको हो। उक्त गोठ चन्दननाथ–२ का बखतबहादुर बुढथापा र चन्दननाथ–३ सान्तिनगरका बलबहादुर बुढथापाको संयुक्त स्वामित्वमा रहेको थियो।
प्रहरीका अनुसार खोलिकोटबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको गोठमा ४३ वटा बाख्रा राखिएका थिए।
भालुको आक्रमणबाट दुई वटा बाख्रा घटनास्थलमै मरेका छन् भने तीन वटा बाख्राको अवस्था अझै अज्ञात रहेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी चिरञ्जीवी दाहाल ले बेपत्ता बाख्राको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। घटनापछि स्थानीयवासी, पशुधनी तथा सरोकारवाला निकायले वन क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।
हालै वन क्षेत्र आसपास जंगली जनावरको गतिविधि बढ्दै गएको स्थानीयवासीको भनाइ छ। भालुको आक्रमणपछि पशुपालकहरूमा त्रास फैलिएको छ भने वन नजिकका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्थानीयहरूले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी सुरक्षा तथा राहत व्यवस्थापनका कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।




