जुम्लाको गुठिचौर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३८ करोड ३६ लाख ३ हजार १३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको २३ औँ गाउँसभामा कार्यवाहक अध्यक्ष शान्ति मल्ल भण्डारीले बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेट अनुसार गाउँपालिकाको आन्तरिक स्रोतबाट ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड १० लाख, विशेष अनुदान १ करोड ५ लाख, सशर्त अनुदान १० करोड ५९ लाख, समपूरक अनुदान ९ करोड ७३ लाख तथा राजस्व बाँडफाँडबाट ९ करोड ५८ लाख २७ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट राजस्व बाँडफाँड १३ लाख ८५ हजार १३२ रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड १८ लाख ६३ हजार, सशर्त अनुदान १ करोड २५ लाख ५८ हजार, समपूरक अनुदान १ करोड ६६ लाख ५ हजार तथा विशेष अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँपालिकाका निर्वाचित अध्यक्ष दानबहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको छ ।
निर्वाचन आयोगले सूचना जारी गर्दै अध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ । अध्यक्ष पद रिक्त भएपछि उपाध्यक्ष शान्ति मल्ल (भण्डारी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ ।
गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यपालिका सदस्य देउरामा नेपालीले नीति तथा कार्यक्रम वाचन गर्नु भएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास योजना, सेवा प्रवाह सुधार, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा अन्य प्राथमिकताका क्षेत्रमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।





