जुम्ला । अमेरिकी सञ्चार माध्यम द ग्रेजोनले नेपालमा सञ्चालित अमेरिकी सहयोग सम्बन्धी राजनीतिक नेतृत्व विकास कार्यक्रमका लिक भएका दस्तावेजमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सांसद सागर ढकाल र सुदन गुरुङको नाम समावेश रहेको दाबी गरेको छ ।

द ग्रेजोनले सेप्टेम्बर ९, २०२६ मा प्रकाशित गरेको अनुसन्धानात्मक रिपोर्टमा Consortium for Elections and Political Process Strengthening (CEPPS) का दस्तावेज, विशेषगरी सन् २०१९ को कार्ययोजना, अध्ययन गरेको जनाएको छ । रिपोर्टअनुसार ‘निति संवाद’ (Niti Sambad) नामको कार्यक्रम सन् २०१७ देखि २०२२ सम्म नेपालमा सञ्चालन भएको थियो ।
द ग्रेजोनका अनुसार उक्त कार्यक्रम अमेरिकी सहयोगअन्तर्गत International Republican Institute (IRI), International Foundation for Electoral Systems (IFES) र National Democratic Institute (NDI) आबद्ध संरचना मार्फत सञ्चालन गरिएको थियो र यसका लागि करिब २ करोड अमेरिकी डलरको रकम विनियोजन गरिएको थियो । NDI को सार्वजनिक अभिलेखले पनि ‘निति संवाद’लाई पाँच वर्षे USAID-funded कार्यक्रमका रूपमा उल्लेख गरेको छ ।
द ग्रेजोनले उद्धृत गरेको CEPPS को कार्ययोजनामा नेपालका युवा राजनीतिक नेतासँग सम्पर्क विस्तार गर्ने, युवा नेतृत्व कार्यक्रमको पहुँच बढाउने तथा संसदमा नयाँ पुस्ताका सम्भावित नेताको क्षमता विकास गर्ने योजना रहेको उल्लेख छ । सोही दस्तावेजमा ‘catalytic civic leaders’ का रूपमा सहयोग गर्ने व्यक्तिहरूको सूचीमा बालेन शाह, रवि लामिछाने, सागर ढकाल र सुदन गुरुङको नाम रहेको रिपोर्टको दाबी छ ।
दस्तावेजमा २५ देखि ३० जना युवा तथा उदीयमान सांसदलाई समेटेर ‘Generation Next Parliamentary Forum’ गठन गर्ने, नेतृत्व विकास, सामाजिक सञ्जाल, सार्वजनिक सम्बन्ध तथा वक्तृत्वकला सम्बन्धी क्षमता अभिवृद्धि गर्ने योजना रहेको पनि द ग्रेजोनले जनाएको छ । विभिन्न राजनीतिक दलका युवा नेतासँग सम्पर्क विस्तार गर्ने तथा सार्वजनिक धारणा बुझ्न राष्ट्रिय र लक्षित जनमत सर्वेक्षण सञ्चालन गर्ने योजना पनि दस्तावेजमा रहेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा CEPPS का दस्तावेजले नेपालमा चीनको प्रभाव, पूर्वाधार तथा जलविद्युत् लगानी र बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) सम्बन्धी विषयलाई समेत कार्यक्रमको प्राथमिकतामा राखेको दाबी गरिएको छ । सन् २०१९ को दस्तावेजमा नेपाल सम्बन्धी काम अमेरिकी Indo-Pacific Strategy का उद्देश्यसँग मेल खाने गरी सञ्चालन भएको उल्लेख रहेको पनि द ग्रेजोनले जनाएको छ ।
स्रोत : द ग्रेजोन, ९ सेप्टेम्बर २०२६ को अनुसन्धानात्मक रिपोर्ट; CEPPS का उद्धृत दस्तावेज; National Democratic Institute (NDI) का सार्वजनिक अभिलेख ।





