जुम्ला । औषधि व्यवसायीमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न तथा तथ्य प्रमाणित गरेर मात्र समाचार सम्प्रेषण गर्न नेपाल औषधि व्यवसायी संघ, जुम्लाले माग गरेको छ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै औषधि बिक्री–वितरण सम्बन्धी आरोप, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र सार्वजनिक धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
औषधि व्यवसाय जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील, जिम्मेवार र मर्यादित पेसा भएको उल्लेख गर्दै संघले औषधि व्यवसायीहरू स्वास्थ्य सेवा प्रणालीका महत्त्वपूर्ण साझेदार रहेको जनाएको छ । बिरामीलाई आवश्यक औषधि उपलब्ध गराउँदै उपचार, स्वास्थ्य सुधार र जीवनरक्षामा योगदान पुर्याइरहेका व्यवसायीलाई पर्याप्त तथ्य परीक्षण नगरी आरोपित गर्नु उचित नभएको संघको भनाइ छ ।
संघका अनुसार औषधि तथा लागूऔषधसम्बन्धी कानुनी र प्राविधिक विषयको पर्याप्त जानकारी नराखी औषधि व्यवसायीलाई दोषी देखाउने गरी समाचार सम्प्रेषण गर्दा उनीहरूको सामाजिक, मानसिक तथा व्यावसायिक जीवनमा गम्भीर असर पर्न सक्छ ।
प्रेस विज्ञप्तिमा औषधि पसलको अनुगमन तथा अनुसन्धान लाई प्राविधिक ज्ञान, तथ्य र प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिइएको छ। औषधि व्यवस्था विभागका सम्बन्धित विज्ञ वा अधिकारप्राप्त प्रतिनिधिको सहभागितामा अनुगमन गर्न पनि संघले माग गरेको छ ।
त्यस्तै, चिकित्सकको प्रेस्क्रिप्सनअनुसार बिक्री–वितरण गर्नुपर्ने औषधिको हकमा प्रेस्क्रिप्सन, बिक्री अभिलेख र प्रचलित कानुनी मापदण्डका आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने संघको माग छ। आरोपित व्यक्तिलाई अनुसन्धान पूरा नहुँदै दोषीका रूपमा प्रस्तुत नगर्न र कानुनी प्रक्रियाको सम्मान गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
तथ्यगत त्रुटि भएका समाचार वा विज्ञप्तिका सम्बन्धमा सम्बन्धित निकायबाट समयमै सत्यतथ्य र आवश्यक स्पष्टीकरण सार्वजनिक गर्नुपर्ने संघले जनाएको छ। औषधि व्यवसायीको हकहित, पेसागत मर्यादा र प्रतिष्ठाको संरक्षण गर्दै कानुनसम्मत व्यवसाय सञ्चालनका लागि सहयोगी वातावरण बनाउन पनि संघले सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
नेपाल औषधि व्यवसायी संघ, जुम्लाका महासचिव मकरबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा औषधिको सुरक्षित प्रयोग, जनस्वास्थ्यको संरक्षण र कानुनसम्मत औषधि व्यवसाय सञ्चालनप्रति संघ प्रतिबद्ध रहेको उल्लेख छ ।
संघले औषधिको सही पहिचान, तथ्यका आधारमा समाचार सम्प्रेषण, निष्पक्ष अनुगमन र औषधि व्यवसायीको पेसागत मर्यादाको सम्मान गर्न सम्बन्धित निकाय, सञ्चारमाध्यम तथा सरोकारवालासँग आग्रह गरेको छ ।





