मोरङ । पर्यटक भिसाको दुरुपयोग गरी क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा मोरङबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका–७, बरगाछीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा धार्मिक गतिविधि तथा धर्म प्रचारमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितको टोलीले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिक सहभागी थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको जनाइएको छ। बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरेका थिए। ती भवन पछिल्लो समय धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएका थिए।
उक्त जग्गा र भवनमा भइरहेका गतिविधिलाई लिएर विवाद उत्पन्न भएपछि त्यसलाई मत्थर पार्ने उद्देश्यले व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको विवरणमा उल्लेख छ।
अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिक अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको जनाइएको छ।
पर्यटक भिसाको सर्तविपरीत धार्मिक गतिविधि तथा धर्म प्रचारमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





