नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेकाे अयोध्या–जनकपुर रेलसेवासँग एउटा रोचक ऐतिहासिक संयोग जोडिएको छ । जुन रेलमार्ग हुँदै जनकपुरसम्म रेल आइपुग्दै छ, त्यही रेलमार्गलाई महोत्तरीको बर्दिबाससम्म विस्तार गर्ने सम्झौता नेपाल र भारतबीच १६ वर्षअघि नै भएको थियो ।

नेपाल र भारतबीच सन् २०१० अर्थात् सन् २००९ दशकको सुरुवातमै सीमापार रेल पूर्वाधार विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी अनुसार भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म रेलमार्ग विस्तार गर्ने योजना अघि सारिएको थियो। यसै योजनाअन्तर्गत जयनगर–बिजलपुरा रेलमार्ग र त्यसलाई बर्दिबाससम्म विस्तार गर्ने परियोजना समेटिएको थियो।
भारत सरकारको आधिकारिक विवरणअनुसार सन् २०१० मा नेपाल–भारत सीमाका पाँच स्थानमा रेल पूर्वाधार विकास गर्ने समझदारी भएको थियो । त्यसमा जयनगर–बिजलपुरा र बिजलपुरादेखि बर्दिबाससम्मको रेलमार्ग पनि समावेश थियो। जयनगरदेखि बिजलपुरासम्मको दूरी करिब ५१ किलोमिटर र बिजलपुरादेखि बर्दिबाससम्मको दूरी करिब १७ किलोमिटर निर्धारण गरिएको थियो।
तर सम्झौता भएको लामो समयसम्म पनि परियोजना पूर्ण रूपमा सम्पन्न हुन सकेन। जयनगरदेखि कुर्थासम्मको रेलसेवा सन् २०२२ अप्रिलमा सञ्चालनमा आएको थियो। त्यसपछि सन् २०२३ जुलाईमा रेलमार्ग बिजलपुरासम्म विस्तार गरिएको थियो। अहिले बिजलपुरादेखि बर्दिबाससम्मको अन्तिम खण्डको काम जारी रहेको भारतीय दूतावासले जनाएको छ।
यसरी १६ वर्षअघि अघि सारिएको जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग विस्तारको योजना अझै पूर्णता पर्खिरहेको अवस्थामा दुई देशका प्रधानमन्त्रीले जनकपुर र अयोध्याबीचको रेलसेवा उद्घाटन गरेका हुन्।
सम्झौता पुरानो, बर्दिबाससम्म रेल पुग्ने प्रतीक्षा कायमै
बर्दिबाससम्म रेलमार्ग विस्तार गर्ने योजना मधेश प्रदेशका लागि आर्थिक तथा यातायात विकासको दृष्टिले महत्वपूर्ण मानिन्छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिने बर्दिबाससम्म रेलसेवा विस्तार भए जनकपुरसहित मधेशका विभिन्न क्षेत्रका नागरिकलाई आवागमनमा सहजता पुग्नुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर सम्झौता भएको १६ वर्ष बितिसक्दा पनि रेलमार्गको अन्तिम खण्ड निर्माण सम्पन्न नहुनुले पूर्वाधार परियोजनाको कार्यान्वयनमा देखिएको ढिलाइलाई पनि उजागर गरेको छ।
नेपाल र भारतबीच सन् २०१० मा भएको समझदारीले पाँच सीमावर्ती रेलमार्ग विकास गर्ने लक्ष्य राखेको थियो। जयनगर–बिजलपुरा–बर्दिबासबाहेक जोगबनी–विराटनगर, नौतनवा–भैरहवा, रुपैडिहा–नेपालगन्ज र न्यू जलपाइगुडी–काँकडभिट्टा रेलमार्ग पनि त्यस योजनामा समेटिएका थिए।
रेल उद्घाटनसँगै पुरानो प्रतिबद्धता कार्यान्वयनको अपेक्षा
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा रेल कनेक्टिभिटीलाई पनि महत्वपूर्ण विषयका रूपमा अघि सारिएको छ। दुई प्रधानमन्त्रीले अयोध्या–जनकपुर रेलसेवा उद्घाटन गर्न लागेको सन्दर्भमा बर्दिबाससम्मको रेलमार्ग विस्तारलाई गति दिने विषयले पनि महत्व पाउने अपेक्षा गरिएको छ।
रेलसेवा उद्घाटनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप जोड्नेछ। अयोध्या र जनकपुर दुवै हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक स्थल हुन्। रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धका कारण यी दुई क्षेत्रबीचको रेल सम्पर्कले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्नेछ।
तर जनकपुरसम्म रेल आइपुग्नु र बर्दिबाससम्म विस्तार गर्ने पुरानो योजना पूरा हुनु फरक विषय हुन्। त्यसैले अहिलेको उद्घाटनसँगै १६ वर्षअघि गरिएको प्रतिबद्धता कहिले पूरा हुन्छ भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक बनेको छ।





