कथा त सकियो,
तर व्यथा अझै उस्तै छ ।
रचियो सुन्दर कर्णालीको गाथा,
तर त्यस कथामा म
बलिदान दिने पात्र, हरि बहादुर कुँवर
भुलेर किनारा लागेको छु ।

मेरो रगतले सिंचित सिंहासनमा
आज तिमी बस्छौ गर्वसाथ,
तर सम्झियौ कहिल्यै
मेरो त्यो झुप्रो ?
मेरो आगन ?
जहाँ म कर्णालीकै भविष्यका लागि
आगो र आँसुमा जलेर बलिदान भएँ ?
तिमीले त आफ्नो घर बनायौ ,
परिवारलाई गास, बास, कपास जुटायौ,
तर एक पल पनि सोचेनौ
मेरो परिवारलाई,
मेरो बुढेसकाल पर्खिरहेका आमा ,बालाई
मेरो अपहेलित श्रीमतीलाई ।
आज त्यसैले नखोज मलाई तस्वीर भित्र,
म लुकेको छु
मैले कोरेको कर्णालीको आत्मामा ।
मौन श्रद्धाञ्जलीले के पाउँछौ?
माल्यार्पणको त्यो दिन म मात्रै मरेको होइन,
मेरा सपनाहरूलाई तिमीहरू
दिनहुँ हत्या गर्दैछौ ।
मैले तिमी बन्न बलिदान दिएको होइन,
त्यसैले ल्याउनै नपार तिम्रो
आशा बेच्ने भाषणमा मेरो नाम ।
मेरो त्याग हरायो,
कतै धूलोमा, कतै उदास अनुहारमा ।
मेरो शालिक अगाडि फूल चढाएर के गर्छौ ?
जबकि मेरो बलिदान कुल्चेर
आज पनि मौन छौ तिमी ।
म त ममा मात्रै छैन,
मेरो रगत अझै बगिरहेको छ
सम्पूर्ण कर्णालीवासीको नसामा ।
त्यो शालिक सजाउनु पर्दैन,
सजाउनै छ भने
सौतेनी व्यवहारले थिचिएको
कर्णालीको अनुहार सजाऊ ।
मलाई बस्नु छैन पत्थरभित्र,
बरु देऊ टहरामा आश्रय
वासविहीन परिवारलाई,
पेट पोलिरहेका भोकाहरुलाई,
नाङ्गा शरीर ओढ्न कपडालाई ।
मेरो शालिकको धुलो पुछेर
मलाई लाज नदेऊ,
बरु पुछिदेऊ
निराश परिवारको आँसु ।
कवि दिगो पोष्ट डट कम को संरक्षक हुनुहुन्छ





