जुम्ला । तातोपानी गाउँपालिका–४ स्थित हाँकु चौरमा जारी गिडिदह युवा क्लबद्वारा आयोजित खुला पुरुष फुटबल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ। सोमबार सम्पन्न क्वार्टरफाइनल खेलसँगै सेमीफाइनलमा प्रवेश गर्ने चार बलिया टोलीको टुंगो लागेको हो।

पहिलो क्वार्टरफाइनलमा तातोपानी–६ ले उत्कृष्ट प्रदर्शन गर्दै बुद्व एफसीलाई १–० गोलअन्तरले पराजित गर्यो। तातोपानी–६ का धनराज खड्काले निर्णायक गोल गर्दै टोलीलाई सेमीफाइनलमा पुर्याए। समूह चरणदेखि लगातार जित निकाल्दै तातोपानी–६ अब उपाधि नजिक पुगेको छ।
दोस्रो खेलमा जेनजी एफसी र ब्ल्याक डायमण्डबीचको प्रतिस्पर्धा निर्धारित समयमा गोलरहित बराबरीमा सकियो। पेनाल्टी सुटआउटमा ब्ल्याक डायमण्डले ४–३ गोलअन्तरले जित्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
तेस्रो तथा अन्तिम क्वार्टरफाइनलमा एच वान युवा क्लबले घोगेसिम युवा क्लबलाई १–० ले हराउँदै सेमीफाइनल यात्रा तय गर्यो। यसअघि आइतबारको खेलमा जुम्ला एफसीले हाँकु एफसीलाई पेनाल्टीमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
अब मंगलबार बिहान १० बजे पहिलो सेमीफाइनल खेल हुनेछ, जसमा एच वान युवा क्लब र ब्ल्याक डायमण्ड भिड्नेछन्। त्यसपछि दोस्रो सेमीफाइनलमा उपाधि दाबेदार तातोपानी–६ र जुम्ला एफसी आमनेसामने हुनेछन ।
आयोजक गिडिदह युवा क्लबका अनुसार, प्रतियोगिताको फाइनल खेल असोज २९ गते हुनेछ। सेमीफाइनल विजेता दुई टोलीले उपाधिका लागि भिडन्त गर्नेछन ।





