जुम्ला । गिडिदह युवा क्लबद्वारा आयोजित खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलवार) सम्पन्न सेमिफाइनल चरणका दुई रोमाञ्चक खेलहरूबाट फाइनलका दुवै टिमको टुङ्गो लागेको छ।

पहिलो सेमिफाइनल खेलमा एच वान युवा क्लब हाँकु र ब्ल्याक डायमण्ड युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो । खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि निर्णायक गोल एच वान युवा क्लब हाँकुका खेलाडीले गर्दै टोलीलाई १–० गोलको जित दिलाए । उक्त जितसँगै एच वान युवा क्लब हाँकु फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जुम्ला एफ.सी. र तातोपानी–६ बिच कडा भिडन्त भएको थियाे । पहिलाे हाफमा तातोपानी -६ ले १ गाेल गर्दै आफ्नाे टिम लाई अग्रता दिलाउन सफल भएको थियाे ।
खेलकाे दाेर्साे हाफ पछि जुम्ला एफ.सी. २ गाेल गर्दै तातोपानी -६ माथी जित सुनिश्चित गर्दै फाइनलकाे यात्रा तय गरेकाे हमे । खेलभर तीव्र प्रतिस्पर्धा भए पनि जुम्ला एफ.सी. का खेलाडीले निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भए।
अब उपाधिका लागि हुने फाइनल खेल भोलि बिहान ठिक १० बजे हाँकु रंगशालामा मैदानमा हुनेछ । जहाँ एच वान युवा क्लब हाँकु र जुम्ला एफ.सी. बीच भिडन्त हुने छ । आयोजक गिडिदह युवा क्लबका अनुसार फाइनल खेलमा स्थानीय दर्शकहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय युवामा खेलप्रतिको रुचि बढाउने, फुटबल प्रतिभा पहिचान गर्ने र सामुदायिक एकता सुदृढ गर्ने रहेको जनाएको छ ।





