काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै नेता तथा कार्यकर्तालाई आफ्नै “घर फर्किन” आह्वान गरेका छन ।

शुक्रबार जारी सन्देशमा अध्यक्ष ओलीले एमालेलाई निरंकुशताको अन्त्य र लोकतन्त्र स्थापनाको अग्रपंक्तिमा रहेर संघर्ष गर्ने पार्टीको रूपमा चित्रण गरेका छन्। उनले भनेका छन्, “निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो। राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी हो।”
ओलीका अनुसार सामाजिक सुरक्षादेखि लोककल्याणकारी राज्य निर्माणसम्मका महत्वपूर्ण कार्यमा एमालेले नेतृत्वदायी भूमिका खेलेको छ। “समृद्ध नेपाल, सुखी नेपाली”को लक्ष्य पूरा गर्न पार्टीले विभिन्न क्षेत्रमा देखाएको योगदानका सयौं उदाहरण रहेको उनको भनाइ छ।
अध्यक्ष ओलीले एमालेलाई “जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” भन्दै यसको निर्माणमा तीन पुस्ताले योगदान दिएको उल्लेख गरेका छन्। उनले भने, “कतिले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले युवावस्था आन्दोलनमा अर्पण गरे। यही समर्पणले पार्टी आजको अवस्थामा आइपुगेको हो।”
हालको राजनीतिक परिस्थितिलाई उनले लोकतान्त्रिक संविधानमाथि आक्रमण र राष्ट्रिय स्वाभिमानमाथि चुनौतीका रूपमा व्याख्या गर्दै भनेका छन्, “यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।”
एमाले अध्यक्षले विगतमा पार्टी निर्माण र सुदृढीकरणमा संलग्न भएका सबै नेता–कार्यकर्तालाई पुनः एकताबद्ध हुन आग्रह गरेका छन्। “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो,” ओलीले भनेका छन्।
उनले “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई साझा लक्ष्य भन्दै “देशको स्वाधीनता जोगाउन, लोकतन्त्रको रक्षा गर्न र जनताको जीवनमा सुख र समृद्धि ल्याउन” सबैलाई एकताबद्ध हुन अपील गरेका छन्।





