जुम्ला । “खेलकुदको माध्यमबाट एकता, उत्साह र भाइचाराको सन्देश फैलाऔं” भन्ने नाराका साथ गुठिचौर गाउँपालिका–१ मा आयोजना गरिएको प्रथम वडा कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ भव्य रुपमा सम्पन्न भएको छ।

कार्तिक ९ गतेदेखि सुरु भएको यो प्रतियोगितामा जुम्ला, कालिकोट, जाजरकोट र डोल्पा जिल्लाका १३ टिमले प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ठ प्रदर्शन गर्दै कालिकोटको नरहरीनाथ गाउँपालिका–४ विजेता बनेको छ भने जाजरकोटको बारेकोट गाउँपालिका–१ उपविजेताको उपाधि हात पारेको छ।
विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मेडल, प्रमाणपत्र र आकर्षक ट्रफी प्राप्त गरेको छ।
- समापन कार्यक्रममा बोल्दै गुठिचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुन कुमार महताराले खेलकुदले युवामा अनुशासन, आपसी सहकार्य र नेतृत्व क्षमताको विकास गराउने बताए। उनले प्रतियोगितालाई सफल बनाउन योगदान दिने सबै खेलाडी, अतिथि, दर्शक, बुद्धिजीवी, अभिभावक र स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरे।
उनका अनुसार, “हाम्रो वडामा पहिलो पटक यस स्तरको प्रतियोगिता आयोजना भएको हो। टाढा–टाढाबाट आएका खेलाडी र दर्शकको उत्साहले आगामी वर्ष अझ ठूलो स्तरमा आयोजना गर्ने हौसला मिलेको छ।”
यस प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने मात्र होइन, गाउँस्तरमै खेल पूर्वाधार निर्माण र खेल संस्कृतिको प्रवर्द्धनमा समेत नयाँ ऊर्जा भरेको छ।





