जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा शुक्रबार विश्व रेडियोग्राफी दिवस मनाइएको छ । कार्यक्रममा केन्द्रीय समिति सदस्य मकर बहादुर हमाल, शिक्षण अस्पतालका निर्देशक, रेडियाेलाेजिष्ट तथा रेडियोलोजी विभागमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको उपस्थितिमा दिवस सफलतापूर्वक सम्पन्न गरिएको हो ।

हरेक वर्ष नोभेम्बर ८ तारिखका दिन विश्वभर रेडियोग्राफी दिवस मनाइन्छ । यो दिन सन् १८९५ नोभेम्बर ८ मा जर्मन वैज्ञानिक विल्हेल्म कन्ऱाड रेण्टगनले पहिलो पटक एक्सरे किरणको खोज गरेको ऐतिहासिक क्षणको स्मरणमा मनाइन्छ ।
कार्यक्रममा रेडियोग्राफीको महत्वबारे प्रकाश पार्दै स्वास्थ्य सेवामा यसको क्रान्तिकारी योगदानको चर्चा गरिएको केन्द्रीय समिति सदस्य मकर बहादुर हमालले जानकारी दिए । उनका अनुसार, शरीरभित्रका संरचना देखाउने, रोगको प्रारम्भिक निदान गर्ने र उपचारमा चिकित्सकलाई सहजीकरण गर्ने रेडियोग्राफी विज्ञानको भूमिका आज स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा स्थापित भएको बताए ।
कार्यक्रममा सहभागीहरूले रेडियोग्राफी क्षेत्रका अग्रज वैज्ञानिकहरू र स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै, नयाँ प्रविधि र सीपमार्फत ग्रामीण क्षेत्रमा समेत गुणस्तरीय रेडियोलोजिकल सेवा पुर्याउने प्रतिबद्धता जनाए ।
दिवसको अवसरमा रोग पत्ता लगाउने दृष्टि रेडियोग्राफी हाम्रो शक्ति भन्ने मूल नाराका साथ सचेतना सन्देश समेत प्रवाह गरिएको थियो । कार्यक्रमले स्वास्थ्यकर्मीहरू बीच आपसी एकता, सीप आदानप्रदान र व्यावसायिक पहिचान सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।





