जनकपुर । मधेश प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदेशको राजनीतिक वातावरण तातिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका विपक्षी दलका नेता–कार्यकर्ताले यादवको नियुक्तिको विरोध गर्दै प्रदेश सरकारको प्रशासनिक भवनमा प्रवेश गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।
प्रवेश रोक्ने क्रममा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल र हातपात समेत भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले प्रदेश कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन । उनका अनुसार संविधानको मर्म विपरीत सरकार गठन भएको भन्दै आन्दोलन तीव्र पारिने तयारी भइरहेको छ ।
प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।
तर, विपक्षी दलहरूले धारा १६८(२) अनुसार नै सरकार गठन गर्न सक्ने अवस्था हुँदाहुँदै (३) लागू गरिएको भन्दै आपत्ति जनाएका छन ।
विपक्षीहरूले संविधान उल्लङ्घन भएको दाबी गर्दै प्रदेशसभामा संसदीय हस्ताक्षर र संख्याबलको पुनः परीक्षण गर्न माग गरेका छन्। यस घटनापछि मधेश प्रदेशमा सरकार गठन प्रक्रिया पुनः विवादित बनेको छ।





