जुम्ला । आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुन गइरहेको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्ला जिल्लाबाट प्रतिनिधि छान्ने प्रक्रिया सफलतापूर्वक सर्वसम्मत रूपमा सम्पन्न भएको छ । विभिन्न पदका लागि धेरै संख्यामा उम्मेदवारी परे पनि अन्तिममा सहमतिको आधारमा नेतृत्व चयन गर्नु जुम्ला संगठनको राजनीतिक परिपक्वता र आन्तरिक एकताको प्रतिविम्ब भएको जिल्लाका पार्टी सचिव मानबहादुर रोकायाले बताएका छन् ।

खुला तर्फको प्रतिनिधिमा धेरै नेताहरुको उम्मेदवारी परे पनि अन्तिममा भद्र सहमतिमा जिल्ला अध्यक्ष शान्तिलाल महत र पूर्व सांसद देविलाल थापा चयन भएका छन । महिला क्षेत्र कलस्टरमा मेनका पछाँई र शान्ता शाही, दलित कलस्टरमा रामबहादुर नेपाली तथा युवा क्षेत्रको कलस्टर अनेरास्ववियु पुर्व स्थायी कमिटी सदस्य तथा निबर्तमान जिल्ला कमिटी सदस्य धिरज जैशी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।
प्रतिनिधि चयनपछि जिल्ला अध्यक्ष महतले जुम्लमा एमाले संगठनले पूर्ण एकता र साझा राजनीतिक लक्ष्यका आधारमा महाधिवेशनमा सहभागी हुने समर्पण व्यक्त गरेको बताए । उनका अनुसार हाल नेकपा एमाले माथि देशि विदेशि बाट विभिन्न प्रकारले राजनीतिक घेराबन्दीहरू सिर्जना गरिए पनि पार्टी संगठन एक ढिक्का भएर अघि बढ्दै राष्ट्रियता र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रतन नाथ योगिले जुम्ला जिल्ला बाट जाने प्रतिनिधिहरूले महाधिवेशनमा पार्टीलाई अझ संगठित, सक्षम र देशहित मुखी बनाउने ढङ्गले निर्णायक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी महाधिवेशनले पार्टीको वैचारिक स्पष्टता, नीतिगत दिशा र नेतृत्व क्षमतामा नयाँ ऊर्जा, उत्साह र मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ ।





